प्रधानमन्त्रीको भाषणमा माओवादीको आपत्ति

प्रधानमन्त्रीको भाषणमा माओवादीको आपत्ति

संसदमा गलत तथ्यांक प्रस्तुत गरेर प्रधानमन्त्रीले भ्रम छरेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । 

मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय प्रगती भएको जिकिर गर्दै प्रधानमन्त्री केपी श्रर्मा ओलीले हिजो सदनमा तथ्यांक प्रस्तुत गरेका थिए । सरकारको उपलब्धिबारे चर्चा गर्दै प्रमले अर्थतन्त्र सही दिशामा आएको र देश विकासको गतिमा अघि बढिरहेको दाबी गर्नुभएको थियो । 

पूर्व अर्थमन्त्रीसमेत रहेका माओवादी संसद वर्षमान पुन अनन्तले आज त्यसप्रति आपत्ति प्रकट गरेका हुन् । प्रधानमन्त्रीको भाषणले देशमा समस्या छैन, विकास द्रुत भएको छ, सुशासनको मानक बनेको छ र सरकारको विरोध गर्नेहरू मतिभ्रष्ट हुन् भन्नेजस्तो देखिएको तर, मुलुकको अवस्था भने ठिक विपरित रहेको उनले दृष्टान्तसहित सुनाए । 

‘प्रधानमन्त्रीज्यू तपाईँले संसदमा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरूको चीरहरण भइरहेको किन बिर्सनुभयो ? स्वास्थ्यका तथ्याङ्कहरू प्रस्तुत गरिरहँदा मेरिटोक्रेसी मिचेर भागबन्डा भइरहेको थियो’, प्रतिनिधि सभा बैठकमा वर्षमानले भने । 

गत आर्थिक वर्ष २०८१/८२ मा साना सहकारीका बचतकर्ताको पाँच लाख रुपैयाँ फिर्ता गर्ने प्रचण्ड नेतृत्वको सरकारको नीतिसमेत कार्यान्वयन नगरिएको भन्दै उनले असन्तुष्टि जनाए । रिक्सा, सैलुन, चटपटे व्यवसाय सञ्चालन गरेका बचतकर्ताको फिर्ता गर्नुपर्दैन ? उनको प्रश्न छ । 

मिटरब्याज पीडितका लागि अघिल्लो सरकारले अघि सारेको न्यायिक छानबिन र कारबाही प्रक्रिया रोकिएकोप्रति पनि वर्षमानले आक्रोश जनाएका छन् । कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणमा भैरहेको ढिलासुस्ती उनले उठाए । 

सिंहदरबार परिसरमै निर्माणाधीन संसद भवनको प्रगति विवरण संसदमा प्रस्तुत नगरेकोमा उनले जवाफ माग गरेका छन् । आयातित मलसमेत किसानको खेतमा नपुगेको र सत्तारुढ दलकै नेताहरुले पटक–पटक आवाज उठाउँदा पनि सरकार सुन्न तयार नरहेको भन्दै वर्षमानले अचम्म माने ।

टिप्पणीहरू