एमाले पत्रकारहरुबीच सल्कियो आगो
नेकपा (एमाले) को भात्री संगठन प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे र कास्कीका पूर्व युवा नेतावीच अश्लिल शब्दमा गालीगलौजको अडियो संवाद सार्वजनिक भएपछि सबैलाई सँयमित हुन चौतारी महासचिव हिरामान लामाको आधिकारिक बक्तव्य आएको छ । उता राजीनामा दिएर मार्ग प्रशस्त गर्न उनलाई संगठनभित्रैबाट दबाब पनि बढेको छ।
सामाजिक सञ्जालमा भाइरल भैरहेको अडियोमा पाण्डे र मन्जिव क्षेत्रीबीच वादविवाद भैरहेको सुनिन्छ,जहाँ दुवै जनाले एक अर्कालाई अश्लिल गाली गरिरहेका छन् । आमाको नाम पनि बेचिँदैछ ।
पाण्डेसँग झगडा गर्ने व्यक्ति राष्ट्रिय युवा संघका पूर्व सचिवालय सदस्य र हाल पर्यटन व्यवसायमा आवद्ध छन् । कास्कीका स्थायी वासिन्दा उनले पाण्डेविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको बताए ।
उनका अनुसार यो घटना साढे २ महिना पुरानो हो । भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा कुरा गर्न उनले असोज १५ गते पाण्डेलाई फोन गरेका थिए,त्यही क्रममा भनाभन भएको रहेछ । ‘जति विरोध भए पनि एमाले मुलुकको एउटा निर्णायक शक्ति हो’,जनआस्थाको सम्पर्कमा आएका क्षेत्रीले भने, ‘भदौ २३ र २४ गतेका घटनापछि जस्तो परिस्थिति थियो,त्यसबेला पार्टी नेतृत्व लुकेर बस्ने होइन,अग्रसरता लिने हो भनेर सन्देश पुर्याइदिन फोन गरेको थिएँ ।’
शुरुमा आफू पाण्डेसँग विनम्र भाषामै बोलेको क्षेत्रीको दावी छ । ‘तर उसले तँ खातेले के गर्न खोज्या भनेपछि आवेगमा आएको हुँ’,घटनाको बेलिबिस्तार लगाउँदै भने,‘एउटा संगठनको नेतृत्व गरिरहेको व्यक्तिले त्यति तुच्छ भाषा बोल्छ होला भनेर कल्पना पनि गरेको थिइनँ ।’
‘मैले विष्णु रिमाल,राजेश बज्राचार्यलगायतलाई पनि सभ्य भाषामा म्यासेज गरेर यस्तोबेला केही बोल्नुपर्छ,नेताहरुलाई भन्नुस् भनेको थिएँ’।"
तत्कालीन अवस्थामा मुलुकको अवस्थालाई लयमा फर्काउन पार्टी नेतृत्वले अग्रसरता लिइदियोस् भन्ने आशय र आग्रहसहित अन्य नेताहरूलाई पनि आफूले फोन गरेको क्षेत्रीले सुनाए । ‘मैले त्यसलाई मात्र होइन,विष्णु रिमाल, राजेश बज्राचार्यलगायतलाई पनि सभ्य भाषामा म्यासेज गरेर यस्तोबेला केही बोल्नुपर्छ,नेताहरुलाई भन्नुस् भनेको थिएँ’, उनले थपे ।
क्षेत्रीले पाण्डेसँग ८ वर्ष पुरानो सम्बन्ध भएको जानकारीसमेत दिए । ‘पहिलो युवा संघको सचिवालय सदस्य हुँदादेखि नै चिनजान भएको हो,तर अहिले पाण्डे र रिमालको मुख्य काम भनेकै नेतृत्वलाई साँघुरो घेरामा राख्ने र गलत सूचना पुर्याउने रहेछ, उनीहरूले सही सूचना पुर्याउँथे भने भदौ २३ र २४ गतेको घटना नै हुँदैनथ्यो ।’
‘उसले फोन गरेर सिधै तथानाम भनेपछि आवेगमा आएँ हुँला’
उता,अध्यक्ष पाण्डेले भने क्षेत्रीलाई आजसम्म कहिल्यै नभेटेको र नचिनेको दावी गरेका छन् । क्षेत्रीले नै अपशब्द बोलेपछि आफू पनि आक्रोशित हुन पुगेको पाण्डेको भनाइ छ । ‘उसले फोन गरेर सिधै तथानाम भनेपछि आवेगमा आएँ हुँला’, उनले भने, ‘मैले ब्युरोमा उजुरी दिइसकेको छु ।’
अश्लिल गालीगलौजसहितको अडियो सार्वजनिक भएलगत्तै शुरुमा एआईबाट बनाइएको दावी गरेकाहरुले ब्युरोमा उजुरी दिएको बताए पनि विवादले टुंगो पाउने संकेत देखिएको छैन ।
संगठनकी उपाध्यक्ष तथा महिला विभाग प्रमुख कृपा भण्डारीले अमेरिकाबाटै पाण्डेलाई तत्काल कारवाहीको दायरामा ल्याउन अनुशासन आयोगलाई आग्रह गरेकी छन् । भाइरल अडियो नक्कली सावित होस् भन्दै उनको कटाक्ष छ, ‘पदीय दायित्वमा बसेका व्यक्तिहरूका तुच्छ बोली र गालीगलौजहरू सोसल मिडियामा सुनिंदा,त्यो पनि आफ्नै चेलीबेटीको बेइज्जत हुनेगरी लैङ्गिक र यौनिक उत्पीडनको भाष्य प्रयोग गरेर मनपरी र छाडा शब्द बोल्नेहरूलाई अनुशासनको दायरामा ल्याउनुपर्छ ।’
संगठनकी उपाध्यक्ष तथा महिला विभाग उपप्रमुख रेणु पराजुलीले पनि पाण्डेमाथि अनुसन्धान हुनुपर्ने बताएकी छन् । दोषी देखिएमा उन्मुक्ति नपाउने उनको जिकिर छ ।
‘यस संस्थाप्रति आस्था राख्ने देशभरका पत्रकारहरू,विशेष गरी दिदीबहिनीहरू र शुभेच्छुकहरूलाई विश्वस्त पार्न चाहन्छौँ कि संगठनले कुनै पनि अवस्थामा नैतिक मापदण्डमा सम्झौता गर्दैन’,पराजुलीले भनेकी छन्, ‘हामी विश्वास गर्छौँ कि सत्य, तथ्य र प्रमाणित निष्कर्ष सार्वजनिक भएपछि संगठनको नेतृत्वले आवश्यक र उपयुक्त संस्थागत कदम चाल्नेछ ।’
त्यस्तै,बागमती प्रदेश इञ्चार्ज प्रतिमा सिलवालले पनि घटनाको सत्यता छानविन हुनुपर्नेमा जोड दिएकी छन् । पाण्डेले नेतृत्वमा हुनुपर्ने आधारभूत नैतिकतासमेत देखाउन नसकेको उनको टिप्पणी छ ।
सार्वजनिक अडियोमा सुनिएका शब्द पाण्डेले नै बाेलेको पाइएमा नि:शर्त पदबाट राजीनामा दिनुपर्ने उनको माग छ ।
‘प्रेस चौतारीसँग आस्था राख्ने दिदीबहिनीहरूलाई यो विश्वस्त हुन अनुरोध गर्दछु कि नैतिकताको कसीमा नअटाउने कोही व्यक्तिको हामी दास होइनौँ’, उनले भनेकी छन्, ‘यो परीक्षणमा उहाँ फेल हुनुभयो भने नैतिकताको आधारमा पनि अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ,फेरि पनि अपेक्षा चाहिँ यो छ कि अडियो उहाँले भनेजस्तै फेक पुष्टि भइदेओस् !’
टिप्पणीहरू