अशोक र राजेन्द्र आजैदेखि एक ठाउँ
उपेन्द्र यादवबाट छुट्टिएर बनेको अशोक राईको जनता समाजवादी पार्टी र राजेन्द्र महतोले नेतृत्व गरिरहेको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गरेका छन् ।
आज काठमाडौँको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा आयोजित विशेष कार्यक्रममार्फत दुई दलले मिलेर जाने अठोट गरेका हुन् । अहिले कार्यगत एकता गरेका दुई दल क्रमश: एकताको तहमा पुग्ने जनाइएको छ ।
आज अपराह्न भएको एकता घोषणा सभामा दुवै पार्टीका अध्यक्षले संयुक्तरूपमा अध्यक्षता गरेका थिए । त्यसपछि दुवै अध्यक्षले एकता सम्बन्धी प्रतिवेदन आदान प्रदान गरे ।
कार्यक्रममा जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणुकुमारी यादव, महासचिव मोहम्मद इस्तियाक राई, पूर्वमन्त्री वीरेन्द्र महतो, आङकाजी शेर्पा, राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष केशवकुमार झा, कमला कुमारी गुरुङ, सुमन सायमी लगायतका नेता कार्यकर्ता सहभागी थिए ।
टिप्पणीहरू