मःममा औँठी हाल्ने पसलेलाई दुई लाख जरिवाना

मःममा औँठी हाल्ने पसलेलाई दुई लाख जरिवाना

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी मःमलाई कारबाही गरेको छ । अनुगमनका क्रममा मःममा धातुको औँठी भेटिएपछि महानगरले कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । 

महानगरको कृषि तथा खाद्य विभाग प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार उक्त मःम पसलले पटकपटक महानगरको निर्देशन उल्लंघन र खाद्य स्वच्छता तथा गुणस्तर कायम नगरेको पाइएको छ । महानगरको टोलीले अस्ति मंगलबार उक्त पसलमा निरीक्षण गरेको थियो । 

नियमित अनुगमनका क्रममा बेचबिखनका लागि तयार गरिएको मःममा औँठी भेटिएको जनाउँदै उनले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३) (१) ख बमोजिम दुई लाख जरिवाना गरिएको बताए । 

साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुनेगरी उत्पादन तथा बेचबिखन गर्न पनि निर्देशन दिएको महानगरले जनाएको छ ।

टिप्पणीहरू