काठमाण्डौबाट धरौटी, भक्तपुरमा बयान

काठमाण्डौबाट धरौटी, भक्तपुरमा बयान

जन्मदिनको अभद्र ब्यवहारमा काठमाण्डौबाट धरौटीमा छुटेका गुण्डा नाइकेका रुपमा परिचित चक्रे मिलन उर्फ मिलन गुरुङ्गको ज्यान मार्ने उद्योग मुद्दामा बयान शुरु भएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा बयान चलिरहेको छ । 

२०८१ भदौ १० गते साँझ साढे ६ बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२, सानोठिमीस्थित दिव्यश्वरीमा रहेको बड्डाको तावा रेष्टुरेण्टमा सर्लाहीका मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको थियो । घाइतेका काका दिनेशकुमार रायमाझीले चक्रे मिलनसहितविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । 

गत साउन १६ गते राति महाराजगञ्जस्थित साम्बाला होटलमा बर्थ–डे मनाउने क्रममा होहल्ला गरेवापत पक्राउ परेका उनीसहित १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएकोमा न्यायाधीश खिमानन्द भुसालको इजलासले उनीहरुलाई धरौटीमा छोडेको थियो । 

धरौटी तिरेर छुटेलगत्तै उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइयो । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, भक्तपुरले हिजो मुद्दा दर्ता गरेकोमा आज बयान र थुनछेक बहस हुँदैछ ।

टिप्पणीहरू