पत्रकारसँग प्रधानन्यायाधीश असन्तुष्ट
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारिताको सम्मानका लागि न्यायीक नेतृत्व सजग र संवेदनशील रहेको बताउनुभएको छ । तर, कसैले अदालतको गरिमा र मर्यादामा ठेस पुर्याउने काम गरेमा अदालत टुलुटुलु हेरेर नबस्ने उहाँको भनाइ छ ।
आज बिहान ललितपुरमा आयोजित मुद्दा बक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरु विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै प्रधानन्यायाधीश राउतले न्यायालयलाई प्रभावकारी बनाउन आफूहरुले संयम रहेको बताउनुभयो ।
‘म पूर्ण प्रेस स्वतन्त्रताको हिमायती मान्छे हुँ, म कलमबाट परेको बेलामा गर्नुपर्ने सम्मान र समर्थन म तयार छु’, उहाँले भन्नुभयो, ‘तर न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा भत्किने गरी कुराहरु उजागर हुन थाल्यो भने अदालत टुलुटुलुमात्रै हेरेर बस्दैन, हामीले पनि सन्तुलन खोज्नुपर्ने हुन्छ ।’
पछिल्लो समय न्यायालयको कुनै भरोसा छैन भन्दै गलत भाष्य निर्माण गर्न खोजिएको प्रन्याको गुनासो छ । सोध्नुभयो, ‘यदि अदालतबाट मान्छेको भरोसा डगमगाएको भए यसरी लाखौँ मुद्दा पर्छ ?’
न्यायालयमा पत्रकारको पहुँच सुनिश्चित गर्न आफूहरु प्रयत्नरत रहेको पनि उहाँले जानकारी गराउनुभएको छ ।
‘पत्रकारको न्यायालयमा पहुँच भएन कि भन्ने छ, यसलाई मैले गम्भीरतापूर्वक लिएको छु, कम भयो कि भन्ने छ’, उहाँ भन्नुहुन्छ, ‘मुख्य रजिस्टार यहीँ हुनुहुन्छ, अदालतमा बस्नका लागि बेन्चमै पनि इजलासको बाहिर बस्न एउटा छुट्टै रो पनि बनाउन सकिन्छ, कुनै कुरामा विघ्न बाधा छ भने त्यसलाई हटाउँछु ।’
टिप्पणीहरू