‘स्वमूल्याङ्कन कार्यविधि एकदलीय निरङ्कुशताको पूर्वाभ्यास’

‘स्वमूल्याङ्कन कार्यविधि एकदलीय निरङ्कुशताको पूर्वाभ्यास’

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद श्रीकृष्णप्रसाद अधिकारीले निर्वाचन आयोगको प्रस्तावित राजनीतिक दलसम्बन्धी स्वमूल्याङ्कन कार्यविधिलाई बहुदलीय व्यवस्थामाथि अंकुश लगाउने प्रयासका रूपमा अर्थ्याएका छन् । 

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले उक्त कार्यविधिको मस्यौदा साना दलहरूको स्वतन्त्रता समाप्त पार्ने र एकदलीय निरङ्कुशता पुनःस्थापित गर्ने उद्देश्यप्रेरित रहेको दाबी गरे । निर्वाचन आयोगजस्तो स्वतन्त्र र निष्पक्ष संस्थाबाट यस्तो मस्यौदा आउनु लोकतान्त्रिक मूल्य र प्रणालीमाथिको प्रत्यक्ष प्रहार हो भन्ने टिप्पणी सांसद अधिकारीको छ । 

‘दलीय स्वतन्त्रता र राजनीतिक दलहरुबीचको स्वतन्त्र प्रतिस्पर्धामाथि अंकुश लगाएर हिजोकै एकदलीय निरङ्कुशताको हस्को आउनेगरी साना दलहरुको स्वतन्त्रता छिनेर समाप्त पार्ने हेतुले निर्वाचन आयोगजस्तो स्वतन्त्र र निष्पक्ष रहनुपर्ने संस्थाद्वारा स्वमूल्याङ्कन कार्यविधि मस्यौदा आएको छ’, उनले भने । 

राजनीतिक दल सञ्चालन ऐन, २०६३ को दफा ६१ लाई आधार बनाएर यो कार्यविधि ल्याइएको भनिए पनि त्यसअनुकूल नरहेको अधिकारीको भनाइ छ । कार्यविधि मस्यौदामा ऐन विपरीत प्रशासनिक संरचना खडा गर्ने र सेवा–सुविधा तोक्ने प्रस्ताव रहेको भन्दै उनले आपत्ति जनाए । 

‘राजनीतिक दल सञ्चालन ऐन, २०६३ को दफा ६१ लाई आधार बनाएर मस्यौदा ल्याएको भनिएको छ । तर राजनीतिक दल सञ्चालन ऐनमा सो ऐन कार्यान्वयनका लागि मात्र कार्यविधि र निर्देशिका बनाउन सक्ने प्रावधान छ’, सांसद अधिकारीले भने, ‘छुट्टै उद्देश्य र प्रयोजनका लागि कार्यविधि र निर्देशिका बनाउन यो ऐनले छुट दिएको छैन । विधायन ऐन विपरित प्रत्योजित विधायनलाई प्रत्योजन गरेर प्रशासनिक संरचना खडा गरी छुट्टै सेवा सुविधा तोक्ने जस्ता विपरित कार्यहरु मस्यौदामा प्रस्ताव आएका छन् ।’

टिप्पणीहरू