प्रधानमन्त्रीद्वारा सरकारी सूचना उछिट्याएको आरोप लागेका पात्रको प्रशंसा

प्रधानमन्त्रीद्वारा सरकारी सूचना उछिट्याएको आरोप लागेका पात्रको प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै आईटी विज्ञ अस्गर अलीको प्रशंसा गर्नुभएको छ । अलीकै कारण यस वर्षकाे एसईई पररीक्षाको नतिजामा सुधार आएको उहाँले दाबी गर्नुभयो । 

‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ मा बोल्दै प्रम ओलीले आईसिटीको प्रयोग गरेर देशमा कायापलट गर्न सकिने बताउनुभयो । 

‘गत वर्षको नतिजाबाट अलि दु:खी थिएँ,सरकारले बजेट सजेट ल्याइसकेको अवस्थामा हामीले खासै केही गर्न सकेनौँ, तर पनि अस्गर अली (इशारा गर्दै) जस्ता युवाहरुसँग सहयोग मागेँ’, ओलीले सुनाउनुभयो, ‘मैले कति विद्यार्थीहरुलाई अनलाइनमार्फत् जोड्न सकिन्छ त भन्दा एक लाख ८५ हजार जति विद्यार्थी पढाउन सकिन्छ भन्ने कुरा भयो, त्यसपछि उहाँले आफ्नो तरिकाले प्रयास अघि बढाउनुभयो, त्यसमा अरु केही साथी जोडिए, एक ढंगले भन्ने हो भने सानो प्रयासले यो वर्षको नतिजा १४ प्रतिशत वृद्धि भएको हो ।’

स्मरणीय के छ भने, प्रधानमन्त्री ओलीले यसरी सगौरव नाम लिएका अली उनै हुन्, जसले बालुवाटार निकट भएरै करिब १० अर्ब बराबरको सूचना तथा प्रविधिसम्बन्धी ठेक्का हात पारेका छन् । प्रधानमन्त्रीका आईटी सल्लाहकारको हैसियतमा सरकारी सेवा सुविधा त लिएका छन् नै, सूचना तथा प्रविधिसम्बन्धी सरकारी आयोजनाहरू पनि उनको कम्पनी एम्बिसन गुरुले कब्जा गरेको पाइन्छ । 

बालुवाटारको आडमा अस्गर कति शक्तिशाली छन् भने उनको कारण शिक्षामन्त्री विद्या भट्टराईले पदै छाड्नुपर्‍यो । राज्यको करोडौँ लगानीमा सञ्चालित शैक्षिक कार्यक्रमका सामग्री उत्पादनको जिम्मेवारी विद्याले आफ्नो कम्पनीलाई दिन नमानेपछि  उनले प्रधानमन्त्रीमार्फत दबाब दिएको खुलासा उतिबेलै भएको हो ।

ओली अघिल्लोपल्ट प्रम भएका बेला पनि आइटी विज्ञकै रुपमा सिंहदरबार छिरेका अस्गरमाथि सरकारी सूचना बेचेको आरोप लागेको थियो । सर्वसाधारणका संवेदनशील र गोप्य विवरण उपलब्ध गराउन भन्दै पद र पहुँचकै आडमा अनुचित र गैरकानुनी तरिकाबाट विभिन्न सरकारी निकायलाई दबाब दिने गरेको दाबी गर्नेहरू धेरै छन् । तर, न कसैले त्यसविरुद्ध मुद्दा-मामिला गर्यो न छानविन नै भयो ।

टिप्पणीहरू