मिनी संसदमा ‘व्याकुल माइला’ को चर्चा

मिनी संसदमा ‘व्याकुल माइला’ को चर्चा

संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा भएको छ । आज बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले कुरा उठाएका हुन् । 

आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतीकरण र छलफल कार्यसूचीमा थियो । संशोधनकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले विधेयकमाथि आफ्नो धारणा राखिन् । 

त्यसक्रममा उनले बजारमा नक्कली व्याकुल माइलाको चर्चा चलिरहेको समितिलाई जानकारी गराईन् । बैठकमा गौतमले राष्ट्रिय गानका रचयिता प्रदीप राई (व्याकुल माइला) बनेर उहाँको आत्मसम्मानमा चोट पुग्नेगरी किताव निकाल्नेदेखि प्रपोजल बनाएर  बजेट निकासा गरिएको कुरा सार्वजनिक भएको बताइन् ।

देशको राष्ट्रियगान सिर्जना गर्ने व्यक्तिमाथि यस किसिमको व्यवहार हुनु राम्रो नहुने भन्दै सांसद गौतमले मन्त्रालयको ध्यानाकर्षण पनि गराइन् । यसबारे समिति र सरकार पनि संवेदनशील हुनुपर्नेमा उनले जोड दिईन् ।

‘अहिले व्याकुल माइलाको कुरा आइरहेको रहेछ । एक जना कोही व्यक्तिले व्याकुल माइला हुँ भनेर किताव निकाल्ने, प्रपोजलहरु गर्ने, कता कता गएर बजेटहरु निकासा गर्ने, यो खालको कुराहरु भइरहेको रहेछ । उहाँको आत्मसम्मानमा चोट पुग्यो भन्नेकुरा आयो । यो संवेदनशील विषय हो’, गौतमले बैठकमा भनिन्, ‘नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस्तो हुनु हुँदैन । प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्नुस् भनेको रहेछ । सक्कली मान्छेलाई नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्न ह्युमुलेसन पनि हुन्छ । यो विषय मन्त्रालयले ध्यानाकर्षण गरोस् ।’

टिप्पणीहरू