कृष्ण जन्माष्टमी मनाइँदै
आज भगवान् श्रीकृष्ण जन्मेको दिन, अर्थात् श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीको दिन हिन्दु धर्मावलम्बीहरुले पूजा–आराधना गरेर श्रीकृष्ण जन्माष्टमी मनाउँछन् ।
हिन्दु धर्ममा भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास छ । श्रीकृष्णलाई भगवान् विष्णुको आठौं अवतार मानिन्छ। धर्मशास्त्रहरूमा दुर्जनको विनाश र सज्जनको रक्षाका लागि श्रीकृष्णको जन्म भएको उल्लेख छ ।
कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिलाउन पिता वासुदेव र माता देवकीको आठौं गर्भबाट भगवान् श्रीकृष्णको जन्म भएको थियो । मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई स्नान गराउने परम्परा छ ।
श्रीकृष्णको पूजाआजा गरेमा लामो आयु प्राप्त हुने, सन्तान प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वास छ । पाटन मंगलबजारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
टिप्पणीहरू