पानीपोखरीमा झण्डोत्तोलन
गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन गरिएको छ । नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालयले पानीपोखरीस्थित आइएमई कम्प्लेक्स परिसरमा विशेष समारोहबीच झण्डोत्तोलन कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपाल–इण्डोनेसिया सम्बन्ध सुमधुर रहेको बताउँदै आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन निरन्तर प्रयास भइरहेको जानकारी दिएका छन् । दुई देशबीचको आपसी व्यापार र अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारलाई लाभ पुग्ने प्रशस्त सम्भावना रहेको उनको भनाई छ । पर्यटन र आयात–निर्यात व्यापारका क्षेत्रमा दुई देशबीच धेरै सम्भावना रहेको वाणिज्य दूत ढकालले बताए ।
नेपाल र गणतन्त्र इण्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालका लागि इण्डोनेसियाको आवासीय राजदूतावास बंगलादेशको राजधानी ढाकामा छ ।
झण्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका इण्डोनेसियाली मूलका नागरिक, वाणिज्य दूत कार्यालयका प्रतिनिधि तथा आइएमई ग्रुपका कर्मचारीहरूको ठूलो संख्यामा उपस्थिति थियो ।
टिप्पणीहरू