जंगी अड्डामा घोडा र कुकुर, होटल द्वारिकामा मधेशवादी नेता
भारतले नेपाललाई दुई वटा सैनिक कुकुर र छ वटा घोडा उपहार दिएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले आज जंगी अड्डा पुगेर प्रधान सेनापति अशोकराज सिग्देललाई औपचारिक रुपमा ती कुकुर र घोडा उपहार हस्तान्तरण गरेका हुन् ।
भारतले यसअघि दिने भनिएको ती उपहार हस्तान्तरण हुन सकेको थिएन । उपहारमा प्राप्त कुकुर र सैनिक घोडा मुख्यालयमै राखिने छ । नेपाली सेनालाई छ वटा स्ट्राइकिंग गाडी समेत दिइएको छ ।
जंगी अड्डाबाट द्वारिका होटल फर्किएर मिश्रीले विभिन्न मधेशवादी दलका नेताहरुसँग भेटावार्ता गरेका छन् । पशुपतिनाथ मन्दिर पुगेर दिउँसो साढे २ बजे वायुसेनाको विशेष विमानमा दिल्ली फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो दिन हिजो बिहान काठमाडौँ आइपुगेका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
टिप्पणीहरू