विज्ञापन बोर्डद्वारा दुई एजेन्सी कारबाहीमा, क्यानलाई सचेत

विज्ञापन बोर्डद्वारा दुई एजेन्सी कारबाहीमा, क्यानलाई सचेत

विज्ञापन बोर्डले ललितपुरको ब्राण्ड डिजिटल लजिक र काठमाडौंको टिसिएम स्पोर्टस एण्ड मार्केटिङ प्रालिलाई कारबाही गरेको छ । बोर्डमा सूचीकरण नभई विज्ञापन कारोबार गरेको भन्दै दुवै एजेन्सीलाई १०–१० हजार रुपैयाँ जरिवाना र तीन महिनाका लागि कुनै पनि विज्ञापन तथा सूचना प्रकाशन/प्रसारण गर्न रोक लगाइएको छ ।

बोर्डको निर्णय अनुसार उक्त अवधिभित्र ती एजेन्सीलाई सूचीकरण नगर्न पनि निर्देश दिइएको छ । सूचना अनुसार, ‘बोर्ड बैठकबाट उपर्युक्त निर्णय भएकोले २०८२–०७–२० गतेसम्म ब्राण्ड डिजिटल लजिक प्रालि र टिसिएम स्पोर्टस एण्ड मार्केटिङ प्रालिसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न अनुरोध छ ।’

साथै बोर्डले प्रचलित ऐन, कानून र नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सचेत गराएको छ । २०८० मंसिर १५ देखि पुस ६ गतेसम्म चलेको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा विदेशी कम्पनीमार्फत स्टार स्पोर्टस च्यानलबाट विज्ञापन प्रसारण, खेलाडीको टिसर्ट र ग्राउण्डमा राखिएको विज्ञापन, साथै बेटिङ्ग गतिविधि भएको उजुरी बोर्डमा परेको थियो ।

बोर्डले क्यानसँग विभिन्न मितिमा जवाफ माग्दा नपेस गरेको र कार्यव्यस्तता देखाउँदै पन्छिएको ठहर गरेको छ । अबदेखि त्यस्ता विज्ञापन नगर्न बोर्डले निर्देशन दिँदै, बेवास्ता गरे भविष्यमा विज्ञापन गर्न रोक्का गरिने चेतावनी दिएको छ ।

सूचनामा उल्लेख छ, ‘विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ट तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को दफा ११ ख (१) बमोजिम बोर्डको निर्देशन बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न रोक्का राखिनेछ । प्रचलित अन्य ऐन र नियमअनुसार विज्ञापन नगर्न सचेत गराइएको छ ।’

टिप्पणीहरू