अख्तियारप्रति पत्रकार महासंघको आपत्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चारमाध्यममा प्रकाशित समाचारको स्रोत मागेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले समाचारको स्रोत माग्नु पत्रकारिताको सिद्धान्त, संविधान तथा आचारसंहिताको प्रावधानविपरीत भएकोप्रति आयोगको ध्यानाकर्षण गराएको छ ।
आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत उपलब्ध गराउन अख्तियारले उक्त पत्रिका प्रकाशन संस्थालाई पत्राचार गरेपछि विज्ञप्ति जारी गर्दै आपत्ति जनाइएको हो । ‘यही साउन ११ गते ‘सामान्य प्रशासनमन्त्री गुप्ता लाखौंको घुस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी’ शीर्षकको समाचारसँग सम्बन्धित अडियो र यही साउन १८ गते प्रकाशित ‘७० लाख घुस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण’ भन्ने समाचारको स्रोत उपलब्ध गराउन आयोगले उक्त पत्रिकाको प्रकाशन संस्थालाई पत्राचार गरेको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समाचार स्रोतको संरक्षण गर्नु पत्रकारिताको सिद्धान्त, धर्म र संवैधानिक अधिकार भएको उल्लेख गर्दै महासंघले प्रकाशित समाचारप्रति असहमति भए विधि प्रक्रियाअनुसार कारबाही गर्ने बाटो हुँदाहुँदै समाचार स्रोत माग्नु प्रेस स्वतन्त्रता विपरीत हुने भएकाले तत्काल पत्र फिर्ता लिन सम्बद्ध पक्षसँग माग गरेको छ ।
टिप्पणीहरू