प्रहरीको तालिमप्राप्त कुकुर सित्तैमा बाँड्ने तयारी

प्रहरीको तालिमप्राप्त कुकुर सित्तैमा बाँड्ने तयारी

नेपाल प्रहरीले तालिमप्राप्त तीन वटा कुकुर सित्तैमा बाँड्न लागेपछि आलोचना भएको छ । सक्रिय उमेर अवधिभर सेवामा खटिएका ती कुकुरलाई अपमानजनक ढंगले बाँड्न लागेकोप्रति पशुपन्छी संरक्षणकर्मी र अधिकारकर्मीहरुले विरोध गरेका हुन् । 

प्रहरी हेडक्वार्टरको केनाइन शाखाले खोजी तथा उद्धारमा खटिने ८ वर्षको पोथी जर्मन सेफर्ड, लागूऔषध खोजी एंव पहिचानमा खट्ने ११ वर्षको रिट्रिभर भाले र विस्फोटक पदार्थको खोजीमा खटाइने १० वर्षको जर्मन सेफर्ड भाले कुकुर नि:शुल्क लिन चाहनेहरुका लागि आवेदन माग्दै सूचना निकालेको छ । तर, पशुपन्छी अभियन्ताहरुले भने जीवनभर जनताको सुरक्षामा खटिएका ती कुकुरलाई अपमानपूर्वक ढंगले बाँड्न लागेको भन्दै आपत्ति जनाए । 

ती कुकुरको प्राकृतिक मृत्यु नहुँदासम्म प्रहरीले नै पाल्नुपर्ने उनीहरुको माग छ । वेवारिशे कुकुरको उद्धारमा सक्रिय सिर्जना कर्मचार्यले प्रहरीले नि:शुल्क वितरणको सूचना निकालेर प्रथम दृष्टिकोणमै कुकुरको अपमान गरेको बताइन् । 

उनको प्रश्न छ, ‘प्रहरी स्वयं पनि रिटायर्ड भएपछि पेन्सन लिन्छ, तर जनताको सुरक्षामा खटिएका ती कुकुरलाई किन पाल्न सक्दैन ? कुकुरकै लागि भनेर रासन भत्ता छुट्याइएको हुन्छ, कहाँ जान्छ त्यो ?’ 

प्रहरीले भने पर्याप्त बजेट नहुँदा बुढो कुकुरलाई पाल्न नसक्ने अवस्था सिर्जना भएको र सोही कारण नि:शुल्क बाँड्न लागिएको बताएकाे छ । प्रहरीको केनाइन शाखाका डिएसपी चेतनारायण ज्ञवालीले बुढा कुकुरको व्यवस्थापन गरेर नयाँ ल्याइने बताए । 

उनका अनुसार शुरुमा ती कुकुर किन्न चाहनेहरुको लागि सात दिने सूचना निकालिएको थियो, तर आवेदन परेन । त्यहि भएर नि:शुल्क दिनेगरी फेरि आवेदन खुलाएको उनले स्पष्ट पारे। 

‘तीन कुकुर उमेरले बुढो भएका छन्, काम गर्न नसक्ने अवस्थामा छन्, नयाँ कुकुर ल्याउनको लागि पनि उनीहरुलाई व्यवस्थापन गर्नैपर्ने हुन्छ’, डिएसपी ज्ञवाली भन्छन्, ‘तर हामीले जसलाई दिए पनि राम्रो हेरचाह गर्न सक्ने मान्छेलाई दिन्छौ, केही मापदण्ड बनाएका छौँ, ती मापदण्ड पूरा हुने व्यक्ति वा परिवारलाई दिन्छौँ ।’

कुकुर वितरणका लागि पूर्व प्रहरी तथा सैनिक कर्मचारीलाई प्राथमिकतामा राखिएको छ । डिएसपी केसी भन्छन्, ‘पशु अभियन्ताहरूले उठाएको सवाल एक ठाउँमा छ, तर कुकुरलाई अपमान नहुने ढंगबाट दिन्छौँ । जसले राम्रो रासन, राम्रो उपचार दिनसक्छ उसैलाई दिने हो । प्राकृतिक मृत्यु नहुँदासम्म बेलाबेलामा गएर ती कुकुरको जानकारी लिन्छौं ।’

अहिले प्रहरीसँग देशभर १०२ वटा तालिमप्राप्त कुकुर छन् । तीमध्ये ५६ वटा कुकुरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल लगायत संवेदनशील ठाउँमा परिचालन गरिएको छ । बाँकी भने प्रदेश प्रहरीले आवश्यकता अनुसार माताहतका जिल्लामा परिचालन गर्दै आएको डिएसपी ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार थप पाँचदेखि सात वटा कुकुर पनि बुढ्यौलीको कारण नि:शुल्क बाँड्नुपर्ने अवस्था आउंदै छ । ‘तीन वटा कुकुरको लागि सूचना निकालिएको छ, तर पाँच-सात वटा कुकुरको अवस्था पनि उस्तै भएकाले फेरि छुट्टै प्रक्रिया सुरु गर्दैछौँ’, उनले भने ।
 

टिप्पणीहरू