शैक्षिक पूर्वाधार विकासमा नेपाललाई कोरियाको सहयोग
विगत लामो समयदेखि नेपालको आर्थिक विकासमा सहयोग पुर्याउँदै आएको दक्षिण कोरियाले शैक्षिक पूर्वाधारमा ठूलो लगानी गर्ने भएको छ ।
कोरिया सरकारले गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि ९ मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब २५ करोड बराबर अनुदान सहयोग गर्न लागेको हो । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अनुदान सम्झौता भएको छ ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र कोरिया सरकारको तर्फबाट नेपालस्थित राजदूत पार्क ते–यङले हस्ताक्षर गरे ।
यो लगानी पूर्वाधार विकासमा मात्र नभई नेपालको मानव संसाधन, सीप र भविष्यका लागि जनशक्ति निर्माणमा गरिएको राजदूत पार्कले त्यसक्रममा जानकारी दिए । परियोजनामार्फत कोरियाले नेपालको क्षमता अभिवृद्धि गरी गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।
परियोजनाको कार्यान्वयन दुवै देशले संयुक्त रुपमा गर्नेछन् । जसअनुसार कोरिया सरकारको तर्फबाट कोरियन इन्टरनेशनल को–अपरेशन एजेन्सी रहनेछ भने नेपाल सरकारको तर्फबाट गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानले जिम्मा पाउने छ ।
सन् २०३० डिसेम्बर ३१ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजनाको मुख्य उद्देश्य २१ औं शताब्दीले खोजेको सक्षम दक्ष जनशक्ति उत्पादन गर्नु रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
टिप्पणीहरू