उत्तरगयामा चिनियाँ भाषा र बौद्धदर्शनमा स्नातक तहको कार्यक्रम
लुम्बिनी बौद्ध विश्वविद्यालयको प्राविधिक सहयोगमा रसुवाको उत्तरगया गाउँपालिकाले चिनियाँ भाषा र बौद्धदर्शनमा स्नातक तहको कार्यक्रम सञ्चालन गर्न लागेको छ । उत्तरगया– ५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा सञ्चालन हुने सो कार्यक्रमले चिनियाँ भाषा सिकाउने र बौद्धदर्शनमा गहिरो अध्ययन गराउने उद्देश्य राखेको छ ।
ब्याचलर इन टिचिङ चाइनिज टु स्पिकर्स अफ अदर ल्यांग्वेज (बिटिसिएसओएल) नाम रहेको सो कार्यक्रम बागमती प्रदेशमै पहिलो पटक सञ्चालन हुन लागेको हो । सो कार्यक्रममा भर्ना हुनका लागि विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने छ । चिनियाँ भाषाका विशेषज्ञ र बौद्धदर्शनका अध्यापकले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्नेछन् । विद्यार्थीलाई छात्रवृत्ति र अन्य सुविधा पनि उपलब्ध गराइने छ । आर्थिक रूपमा कमजोर तर उत्कृष्ट विद्यार्थीलाई विशेष प्राथमिकता दिइने छ ।
सो कार्यक्रमले नेपाल र चीनबिचको सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्ने जनाइएको छ । चिनियाँ भाषा र बौद्ध दर्शन दुवैलाई एकै साथ समेटेर सञ्चालन हुने यो कार्यक्रमले दुवै देशबीचको सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।
विश्वविद्यालयका कुलपति प्रा.डा सुवर्णलाल बज्राचार्य भन्छन्, ‘यो कार्यक्रमले नेपाल र चीनबिचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउने छ । विद्यार्थीले चिनियाँ भाषा र बौद्धदर्शन एकैसाथ अध्ययन गर्न पाउने अवसर पाउनु निकै खुशीको कुरा हो ।’ गाउँपालिकाका अध्यक्ष माधव अर्यालले मित्रराष्ट्र चीनको सीमाना रसुवा जिल्ला रहेको यस भेगका धेरै स्थानीय केरुङ जाने अवस्था बढिरहेकाले गाउँपालिकामा यस्तो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन हुनु गौरवको कुरा भएको उल्लेख गरे । उनले सो क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत गर्ने र भविष्यमा रोजगारीका अवसर पनि सिर्जना हुने विश्वास व्यक्त गरेका छन् ।
नीलकण्ठ माविका प्रधानाध्यापक माधव लामिछानेले विद्यालयले आवश्यक पूर्वाधार तयार पारिसकेको तथा न्यूनतम २० र अधिकतम ४० विद्यार्थीलाई अध्यापन गराइने योजना रहेको जानकारी दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले सो कार्यक्रम चारवर्षे स्नातक तहको हुने र त्यसमा पहिलो दुई वर्षमा भाषाको आधारभूत ज्ञान दिइने तथा अर्को दुई वर्षमा बौद्धदर्शन र चिनियाँ भाषा शिक्षण पद्धतिमा विशेष ध्यान केन्द्रित गरिने उल्लेख गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले भने, ‘हाम्रो पालिकामा यस्तो उच्चस्तरीय शैक्षिक संस्थाबाट कार्यक्रम सञ्चालन हुनु निकै गौरवको कुरा हो । हामी विद्यालयलाई आवश्यक सहयोग गर्ने छौंँ र स्थानीय विद्यार्थीलाई यो अवसरबाट वञ्चित हुन नदिने प्रयास गर्ने छौंँ ।’
टिप्पणीहरू