महायज्ञका नाममा पशुपतिमा फेरि शुरु भयो ‘धन्दा’

महायज्ञका नाममा पशुपतिमा फेरि शुरु भयो ‘धन्दा’

विभिन्न महायज्ञ सञ्चालनको नाममा पछिल्लो समय लुट मौलाएको छ । गेरुवस्त्र धारण गरेर धार्मिक आवरणमा भक्तजनबाट मोटो रकम कुम्ल्याउन थालिएको छ । २०८१ साउन १ गतेबाट एक महिना पशुपतिनाथ मन्दिरमा ‘ऐतिहासिक पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सञ्चालन गरिएको थियो । 

मानवसेवा फाउण्डेशनले भव्य रुपमा आयोजना गरेको सो महायज्ञमा प्रवीण पण्डित दीनबन्धु पोखरेल,राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी, श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गरेका थिए । उक्त कोटिहोममा ठूलै आर्थिक अनियमितता भएको आरोप थियो ।

पशुपतिमा यो वर्ष पनि महायज्ञ आयोजना गरिएको छ । साउन १ गतेबाट शुरु भएको ‘संकटमोचन विराट ज्ञान महायज्ञ’ भदौ २१ गते सम्पन्न हुनेछ । सो महायज्ञ ठगीको अर्को रुपमा देखा परेको जानकारहरु बताउँछन् । सोही फाउण्डेशनद्धारा आयोजित महायज्ञको संकल्पकर्ता विजय कृष्णमूर्ति महाराज उर्फ विजय भण्डारी हुन् । 

विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ क्षेत्रमा मापदण्डविपरीत ड्रोन प्रयोग गरी प्रचारप्रसार गरिरहेका छन् । सँगै दिनभर पञ्चेबाजा घन्काएर भीड तान्ने काम भइरहेको छ ।

विवादित छविका उनले दान संकलनका लागि सचिवालय खडा गरेका छन् । सचिवालयले खुलेआम चन्दा असुल्दा सरोकारवाला निकाय मौन रहनुले शंका उत्पन्न भएको छ । महाराजको मुख्य धन्दा देशभर नै महायज्ञ र कोटिहोम सञ्चालन गरेर रकम असुल्ने हो । अघिल्लो वर्ष भएको कार्यक्रममा अनाथालय निर्माण गर्ने भन्दै करिब २० करोड रुपैयाँ संकलन गरिएको थियो । 

तर,कार्यक्रम आयोजकले २० करोड ५० लाख खर्च भएको र कार्यक्रम घाटामा गएको दावी गर्दै उठेको पैसा कुम्ल्याएको हो । यता,उनीहरुले युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ क्षेत्रमा मापदण्डविपरीत ड्रोन प्रयोग गरी प्रचारप्रसार गरिरहेका छन् । सँगै दिनभर पञ्चेबाजा घन्काएर भीड तान्ने काम भइरहेको छ । 

कोटिहोमका नाममा पोखरामा पनि ‘ठगी’

सोही फाउण्डेशनले गत जेठमा पोखरा महानगरपालिका–१७ मा ‘ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री विराट ज्ञान महायज्ञ–२०८२’ को आयोजना गरेको थियो । सो कोटिहोम आयोजनाका क्रममा झडपसमेत भयो । लाखौं भक्तजनको उपस्थिति रहेको कोटिहोमबाट करोडौं रुपैयाँ असुलेको आरोप छ । स्रोतका अनुसार अब फाउण्डेशनले विराटनगरमा दुई महिने कोटिहोम गर्दैछ । 

त्यसको तयारी शुरु भइसकेको स्रोत बताउँछ । हरेक प्रदेशमा यस्ता कार्यक्रमको आयोजना गर्ने फाउण्डेशनको योजना छ । 

जेल पुगिसकेको व्यक्ति महाराज !

कृष्णमूर्ति महाराज विवादित पृष्ठभूमिका व्यक्ति हुन् । उनी विभिन्न ठगी मुद्दामा जेल बसिसकेका छन् । जेलमुक्त भएपछि उनले ठग्ने नयाँ उपाय निकाले । नाम परिवर्तन गरेर ‘बाल योगेश्वर श्री विजय कृष्णमूर्ति महाराज’ बने । अहिले उनी विभिन्न धार्मिक कार्यक्रम चलाउँदै हिँड्छन् । अघिल्लो वर्षको कोटिहोममा एक्लै लख्खर–लख्खर हिँडेका कृष्णमूर्ति महाराज अहिले दर्जनौंँ निजी सुरक्षाकर्मीको घेराभित्र मात्रै देखिन थालेका छन् । 

मन्त्री, सचिवदेखि सुरक्षा निकायका अधिकारीसम्म उनको कार्यक्रममा सहभागी भइरहँदा एउटा गम्भीर प्रश्न उठेको छ– धार्मिक अनुष्ठानका नाममा उनले चलाएको ठगीधन्दा कसले बन्द गर्ने ?

टिप्पणीहरू