बालेनको बिगबिगीविरुद्ध आन्दोलन बारम्बार
कवाड व्यवसायमाथि प्रतिवन्ध लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध आज पनि प्रदर्शन भएको छ ।
'बालेनको ज्यादती' को विरोधमा लामो समयदेखि सडक संघर्षमा रहेका व्यावसायीहरूले आज पनि आन्दोलन चर्काएका छन् । उनीहरूले आज दिउँसो जुलुससहित महानगर कार्यालय घेराउ गरे ।
भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरू जुलुससहित कमलादी हुँदै महानगरको कार्यालय पुगेका हुन् । मेयर बालेनले विगत २ वर्षदेखि कवाड संकलक मजदुरमाथि तानाशाही प्रवृत्ति देखाएर कुटपिट, समान जफत र संरचना भत्काउनेजस्ता ज्यादती गरेको उनीहरूको आरोप छ ।
कवाड व्यवसायी संघर्ष समितिक संयोजक रामकेबल गुप्ताको अगुवाइमा भएको घेराऊ कार्यक्रममा जोगेन्द्र साहा, ओमप्रकाश सिंह, आम जनता पार्टीका सचिवालय सदस्य कालबादुर बिक, महिला नेतृ रन्जु साहलगायत करिब ८ सय जना सहभागी छन् ।
त्यसअघि भृकुटीमण्डपबाट निस्किएको जुलुस राष्ट्रिय सभागृह मोड, पुरानो बसपार्क, त्रिचन्द्र कलेज, कमलादीस्थित एनआईसी एसिय बैंकको गल्ली हुँदै महानगर कार्यालयअगाडि पुगेको थियो । त्यसक्रममा प्रदर्शनकारीले ‘डोजर आतंक बन्द गर’, 'बालेन साह मूर्दावाद', ‘श्रमको सम्मान गर’, ‘गरि खान देऊ’, ‘अदालतको निर्णयको सम्मान गर’ लगायतका नारा लगाए ।
करिब दुई वर्षदेखि आन्दोलनरत कवाड व्यवसायीहरूले यसअघि गृहमन्त्री रमेश लेखकलाई भेटेर महानगरको आतंक बन्द गराइदिन ध्यानाकर्षण गराएका थिए । तर त्यसयता पनि महानगरले विभिन्न ठाउँमा सञ्चालन हुँदै आएका कवाड पसलमा हस्तक्षेप गरेपछि व्यवसायीहरू पुनः आन्दोलित भएका हुन् ।
मेयर बालेनविरुद्ध सुकुम्बासीहरू पनि आन्दोलनमा उत्रिएका छन् । उनले गरिब, श्रमिक र साना व्यवसायीलगायत गरिखाने वर्गमाथि निरन्तर अत्याचार गरेको दु:खेसो उनीहरुको छ ।
टिप्पणीहरू