मध्यरातमा रिसोर्ट कर्मचारीलाई कुटपिट गर्ने समूह बेपत्ता

मध्यरातमा रिसोर्ट कर्मचारीलाई कुटपिट गर्ने समूह बेपत्ता

सिन्धुपाल्चोकको एउटा रिसोर्टमा मध्यरातमा छिरेर त्यहाँ कार्यरत कर्मचारीलाई निर्घात् कुटपिट गरेको समूह बेपत्ता भएको छ । गत शुक्रबार राति सुकुटेस्थित बिच रिसोर्टका कर्मचारीलाई कुटेपछि भागेको समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

शुक्रबार राति पौने ११ बजेतिर छिरेको अज्ञात समूहले रिसोर्टका ३८ वर्षीय कर्मचारी सुरेन्द्र केसीमाथि आक्रमण गरेर भौतिक संरचना समेत तोडफोड गरेका थिए । घाइते केसीलाई तत्काल सिन्धु सदाबहार अस्पताल पुर्याएर प्राथमिक उपचारपछि थप उपचारार्थ काठमाडौँ रिफर गरिएको थियो । तर आक्रमणकारीको अहिलेसम्म पहिचान नभएको र आक्रमणको कारणसमेत स्पष्ट नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रिसोर्ट सञ्चालक महेन्द्रसिंह थापाले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । थापाले लिला गिरी, कमल श्रेष्ठ, गणेश श्रेष्ठ, देव केसीसहित सात जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

‘यो घटना पुरानो दुश्मनीका कारण हो कि अन्य कुनै कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ एक प्रहरी अधिकृतले बताए, ‘सञ्चालकले नाम लिएका व्यक्तिहरुको संलग्नता छ÷छैन भन्नेबारे पनि अनुसन्धान जारी छ ।’
 

टिप्पणीहरू