सात वर्षदेखि करारको भर, स्थायी पदपूर्तिको छैन तरखर

सात वर्षदेखि करारको भर, स्थायी पदपूर्तिको छैन तरखर

स्थापनाको वर्ष सात, प्रमुखदेखि कर्मचारीसम्म करार ! बागमती प्रदेश सरकारअन्तर्गत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था हो यो । २०७६ सालमा स्थापना भएको प्रतिष्ठानले सात वर्षसम्म स्थायी प्रमुखसमेत पाउन नसकेको विडम्बनापूर्ण अवस्था छ । स्थापनाकालदेखि प्रतिष्ठानको प्रमुख प्रशासकीय अधिकृतमा अमरसिंह अधिकारी छन् । 

२०७७ फागुनमा नियुक्त भएका उनी नवौं तहका करार कर्मचारी हुन् । उनीसँगै त्यतिबेला सात जना कर्मचारी नियुक्त भएका थिए । अधिकारीका अनुसार प्रतिष्ठानमा दुई दर्जन बढी करारका कर्मचारी छन् । सामान्य भाषामा भन्दा प्रतिष्ठान करारकै कर्मचारीले धानिएको छ । सात वर्षसम्म पनि स्थायी कर्मचारी पदपूर्ति नहुनुले प्रतिष्ठानले प्रदेश लोकसेवा आयोगमा माग आकृति नै नपठाउने होकि भन्ने शंका उब्जिएको छ । 

‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६’ ले स्थायी पदपूर्तिका लागि आयोगमा लेखेर पठाउनुपर्ने व्यवस्था गरेको छ । परिच्छेद–३ को दफा ११ मा भनिएको छ,‘प्रतिष्ठानको सेवामा रिक्त रहन आएको पदको सेवा, तह, समूह, उपसमूह तथा न्यूनतम योग्यतासम्बन्धी विवरणहरु आयोगले तोकेबमोजिमको माग आकृति फाराम भरी सबै तहको रिक्त पदको स्थायी पूर्तिको लागि कार्यकारी परिषद्को निर्णयबमोजिम आयोगमा लेखी पठाउनुपर्नेछ ।’ त्यस्तै, दफा १७ ले ६ महिनाका लागि मात्रै अस्थायी कर्मचारी नियुक्त गर्न पाउने व्यवस्था गरेको छ । तर, वर्षौंदेखि अस्थायी कर्मचारीले प्रतिष्ठान चलाइरहेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले लोकसेवामा तीनपटक लेखेर स्थायी कर्मचारी पदपूर्तिका लागि माग गरिसकेको बताए । हरेक वर्ष स्थायी कर्मचारी पदपूर्तिका निम्ति लोकसेवालाई निवेदन लेख्ने गरिएको उनको दावी छ । लोकसेवासँग सो विषयमा निरन्तर छलफल पनि भइरहेको उनले जानकारी दिए । 

जनआस्थासँग उनले भने,‘लोकसेवा आयोगले विज्ञापन नखुलाएकाले स्थायी कर्मचारी पदपूर्ति हुन नसकेको हो । तीनपटक यहाँबाट हामीले निवेदन लेखेर पठाइसकेका छौं । निरन्तर छलफल पनि भइरहेको छ । यो वर्षभित्र केही होला कि ।’

 

शिक्षण पनि करारकै भरमा 

प्रदेशको राजधानी हेटौंडामा रहेको प्रतिष्ठानमा स्वास्थ्यसम्बन्धी पठनपाठन हुन्छ । प्रतिष्ठानले हालै एमबीबीएसको पठनपाठन पनि गराउन थालेको छ । एमबीबीएसतर्फ ५० कोटाका लागि स्वीकृति पाएको उनले जानकारी दिए । रोचक प्रसंग के भने, त्यहाँ शिक्षक पनि अधिकांश करारकै छन् । दुई वर्षअघि प्रदेश लोकसेवाले स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन गरेको थियो । 

९ जना पाँचौं तहका लेक्चरर नियुक्त भएकोमा दुई जनाले जागिर छोडिसकेका छन् । हाल प्रतिष्ठानमा झण्डै ४० जना करारका शिक्षक कार्यरत छन् । प्रतिष्ठानको स्थापनापछि शिक्षणतर्फ एकपटक मात्र विज्ञापन भएको अधिकारी बताउँछन् । भन्छन्,‘शिक्षणतर्फ पनि करारकै बढी छन् । एकपटक विज्ञापन भयो, ९ जना नियुक्त भएकोमा दुई जनाले छोडिसक्नुभएको छ ।’

परीक्षा लिनेमै अन्यौलता 

शिक्षकको पदपूर्ति गर्ने शिक्षक सेवा आयोगले हो । तर, प्रदेशमा आयोग नभएकाले समस्या भएको छ । आयोग नभएपछि यसअघि लोकसेवा आयोगले परीक्षा लिएको थियो । शिक्षक सेवा आयोग राख्ने विषयमा पनि छलफल जारी रहेको अधिकारीले जानकारी दिए । त्यसैगरी, लेक्चररको परीक्षा लिनका लागि पाठ्यक्रम नै नबनेको उनको जिकिर छ । 

‘कर्णाली प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवाले हालै परीक्षा लियो । यहाँ कसले लिने भन्नेमै अन्यौलता छ । शिक्षक सेवा आयोग छैन, राख्ने कुरा भइरहेको छ । करिकुलम पनि बनेको छैन’,उनले भने । 

कार्यसम्पादनमा चुनौती 

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त दक्ष जनशक्ति उत्पादन गर्नुका साथै आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको प्रतिष्ठान राजनीतिक किचलोमा फसेको छ । जसका कारण सात वर्षसम्म पनि प्रतिष्ठानले स्थायी प्रमुख पाउन नसकेको हो । 

करारका कर्मचारीले मात्र चलाएको प्रतिष्ठानको कार्यसम्पादन कस्तो होला ? प्रश्न उठ्छ । प्रतिष्ठानको कार्यसम्पादन चित्तबुझ्दो नभएको जानकार स्रोत बताउँछ । ‘प्रदेश राजधानीमा रहेको प्रतिष्ठानमा वर्षौंदेखि करारका कर्मचारी छन् । करारका कर्मचारीले चलाएको प्रतिष्ठानको कार्यसम्पादन कस्तो हुन्छ ? प्रतिष्ठान शिथिल अवस्थामा छ’,स्रोतले भन्यो । 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार लेखातर्फ स्थायी कर्मचारी छन् । भिसी र रजिष्ट्रार पनि भएकाले कार्यसम्पादनमा खासै प्रभाव नपरेको उनको दावी छ । ‘आर्थिक कामको लागि लेखामा स्थायी कर्मचारी हुनुहुन्छ । भिसी र रजिष्ट्रार पनि हुनुहुन्छ । त्यसैले कामकाजमा त्यति ठूलो प्रभाव परेको छैन’,उनले भने ।

टिप्पणीहरू