ल्हासामा लिपुलेक र कालापानी
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिजाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच भेटवार्ता भएको छ । महावाणिज्यदूतावासमा भएको भेटमा महावाणिज्यदूत निरौलाले चीन सरकारको सहयोग र नेपाल–चीन ऐतिहासिक सम्बन्धप्रति सिजाङ सरकारमार्फत धन्यवाद व्यक्त गरिएको जनाइएको छ ।
यो वर्ष दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रमहरू आयोजना भैरहेको जानकारी दिँदै गत असारको बाढीबाट क्षतिग्रस्त रसुवागढीस्थित नेपाल–चीन मैत्री पुल पुनर्निर्माणमा चीनले दिएको महत्वको प्रशंसा गरिएको छ । महावाणिज्यदूत निरौलाको भनाई उद्धृत गर्दै ल्हासामा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाढीपछि नेपाली नागरिकको सुरक्षित व्यवस्थापनमा चीनको सहयोग अविश्मरणीय छ । पुल निर्माणमा तीव्रता ल्याउन,अस्थायी ह्युमपाइपमार्फत आवतजावत सहज बनाउन र गोदाममा राखिएका सामान नेपाल पठाउन चीनले सहजीकरण गर्नेछ ।’
त्यसैगरी,लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएकाले आपसी सार्वभौमसत्ता कायम राख्दै व्यवस्थापन गर्न चीन सरकारसँग अनुरोध गरिएको निरौलाले बताए ।
प्रत्युत्तरमा महानिर्देशक तिङले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन महावाणिज्यदूतावासको योगदानको सराहना गर्दै रसुवागढी, तातोपानी र किमाथाङ्का नाका व्यवस्थापनमा चीन सरकार तत्पर रहेको जानकारी दिएका छन् । उनले भने, ‘दुई मुलुक तथा नागरिकको हितमा सहकार्य गर्न चीन तयार छ ।’
टिप्पणीहरू