व्यवसायीको घमण्ड महानगरका सडकमा छताछुल्ल

व्यवसायीको घमण्ड महानगरका सडकमा छताछुल्ल

स्थानीय सरकारको भद्र आग्रहलाई नकारिएको र महानगरलाई बेवास्ता गर्दै खुलेआम हाँक दिइएको परिणाम चितवनको सडक छेउमा देखिएको छ । व्यवसायको नाममा विज्ञापनमा व्यक्तिको फोटो प्रयोग गर्न नपाइने जनाउँदै भरतपुर महानगरपालिकाले त्यस्ता विज्ञापन हटाउन थालेको छ । 

महानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत लक्ष्मीप्रसाद पौडेलले क्रमशः हटाउन थालिएको पुष्टि गरेका छन् । भरतपुर महानगरपालिकाले १५ दिने सूचना जारी गरेको एक महिना भइसक्दा पनि सञ्चालक आफैंले हटाएनन्, त्यसैले महानगरपालिकाले विज्ञापन सामग्री हटाउने अभियान आफैं सुरु गरेको बताइएको छ । सञ्चालक यज्ञविलास पौडेल (वाईबी)को फोटोसहितका सेन्ट्रल कलेजका विज्ञापन सामग्री नारायणगढ बजार, भरतपुर ओरालो, चौबीसकोठी, एयरपोर्ट, बसपार्क लगायत क्षेत्रमा हटाइएको छ।

एक हप्ताअघि महानगरपालिकाको राजस्व शाखाका कर्मचारी र विज्ञापन एजेन्सीको उपस्थितिमा नगरप्रहरी बलले ती विज्ञापन सामग्री हटाएको थियो । तर सप्तगण्डकी चोक, मालपोत चोक लगायत अन्य सडक, चोकबजार र भित्री इलाकामा अझै केही विज्ञापन हटिसकेको छैन । अन्य विज्ञापन क्रमशः हटाइने प्रक्रिया भइरहेको महानगर प्रहरी प्रमुख डीएसपी कृष्णहरि ढकालले जानकारी दिए ।

पहिलो चरणमा पुलचोकदेखि गोन्द्राङसम्म राजमार्ग छेउका विज्ञापन हटाइसकिएको र अन्य विज्ञापन पनि क्रमशः हटाइने बताउँदै महानगरपालिकाका कर अधिकृत बुद्धिप्रसाद भुसालले भने, ‘राजस्वको दायरामा नआएका र सञ्चालकको फोटो भएका सबै होर्डिङ तथा फ्लेक्स बोर्ड हटाउन स्पष्ट आदेश आइसकेको छ।’

व्यवसाय फस्टाउन प्रचार–प्रसारको माध्यम बढी प्रयोग भएपछि वाईबीले आफूलाई हाइलाइटमा ल्याउन सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि र सेन्ट्रल मोडेल कलेजको विज्ञापनमा टावर, कलेज बस र आफ्नै फोटो राख्न थालेका थिए।

सडक, गल्ली र चोकबजारका भित्ताभरि ठूला फोटा टाँगिएपछि महानगरपालिकाको चेतावनी बेवास्ता भएको देखियो। विज्ञापन एजेन्सी पूर्णरूपमा वाईबीको प्रभावमा रहेको अनुमान छ।

महानगरपालिकाले २०८१ देखि तीन वर्षका लागि झन्डै तीन करोड रुपैयाँमा आश्रित निर्माण सेवा प्रालिलाई विज्ञापन कर उठाउने ठेक्का दिएको थियो। सेन्ट्रल कलेजबाट ठेकेदार कम्पनीमा समेत दबाब परेको थियो, तर पैसा तिरेको आधारमा अनियमित विज्ञापन गर्न दिनु समाजका लागि हानिकारक हुने चेतावनी दिइएको छ।

सामान्यतयाः उत्कृष्ट विद्यार्थी वा प्रतिष्ठित सेलिब्रिटीको फोटो विज्ञापनमा प्रयोग गरिन्छ। व्यवसायीले व्यक्तिगत फोटो प्रयोग गर्ने चलन स्थापित गरे समाजमा गलत सन्देश फैलिन सक्छ। चोरी–तस्करी वा अवैध आम्दानी भएको व्यक्तिले विज्ञापनमार्फत आफूलाई राम्रो देखाउन सक्ने सम्भावना रहन्छ।

महानगरको कदमले वाईबीलाई ठूलो झटका दिएको अनुमान गर्न सकिन्छ। हाल विज्ञापन हटाउने अन्तिम तयारी भइरहँदा महानगरपालिकामा तारन्तार फोनको घण्टी बजेको बताइन्छ । सेन्ट्रल कलेज समूहमा गएर आफू सञ्चालक नभएको समेत वाईबीले दाबी गरेको बुझिएको छ।

राजस्व, व्यवसाय र सम्पत्ति कर जस्तै विज्ञापन कर उठाउन महानगर आफैं सक्षम छ। यसको लागि एक संयन्त्र बनाउनु पर्ने र विज्ञापन पूर्वस्वीकृतिका लागि अलग शाखा स्थापना गर्नुपर्ने सुझाइएको छ। यसले नियमन सजिलो बनाउनेछ।

भरतपुर विमानस्थलले आफ्नो क्षेत्रका होर्डिङ बोर्ड भाडामा दिएको भन्दै महानगरको टोलीलाई रोक्ने प्रयास गरेको पनि जनाइएको छ।

टिप्पणीहरू