आर्यघाटमा हड्डी किनबेच गर्नेहरूले खुलाए यस्तो कुरा
पशुपति आर्यघाट जलिरहेको शवबाट हड्डी निकालेर किनबेच भएको घटनामा चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज ४२ वर्षीय रामनन्दन ठाकुर, ६१ वर्षका गणेशप्रसाद ढकाल, २४ वर्षे विनायक मैनाली र ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । चारै जनालाई धर्मसम्बन्धी कसुरको मुद्दा लगाइएको छ ।
गत साउन २३ गते पशुपतिमा जलिरहेको शवको हड्डी बेचिरहेको अवस्थामा ढकाल पक्राउ परेका थिए । उनले त्यतिबेला कसलाई हड्डी बेचेको भन्ने नखुले पनि प्रहरी अनुसन्धानको क्रममा ठाकुरले किनेको खुलेको छ ।
ठाकुरले आफ्नो ग्रहदशा र संकट टार्न मानिसको हड्डी र खरानी किनेको स्वीकार गरेका छन् । प्रहरीलाई उनले दिएको बयानमा एक हात हेर्ने जोगीले सुझाएअनुसार यस्तो गरेको उल्लेख छ ।
ती जोगीले जीवनको संकट टार्न मानिस जलाएको खरानी लिई पूर्वतिर फर्किएर पूजा गरी बागमतीमा बगाइदिनु भने सल्लाह दिएपछि त्यसै गरेको ठाकुरको बयान छ ।
पशुपतिमा लामो समयदेखि शव जलाउँदै आएका ढकालले पनि ठाकुरलाई चार सय रुपैयाँमा हडडी र खरानी बेचेको स्वीकार गरेका छन् । आफूले पैसा लिन नचाहेको तर ढकालले आफैँ गोजीमा हालिदिएको उनको दाबी छ ।
टिप्पणीहरू