उखु किसानको माग पूरा गर्न माओवादीको माग

उखु किसानको माग पूरा गर्न माओवादीको माग

नेकपा माओवादी केन्द्रले उखुको समर्थन मूल्य र अनुदान किसानमैत्री ढंगले पुनः निर्धारण गर्न सरकारसँग माग गरेको छ । 

उखु किसानले आफ्नो पसिनाको मूल्य, अधिकार र सम्मानका लागि अनशन बस्नुपरेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै माओवादीले यस्तो माग राखेको हो । प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बक्यौता रकम नपाएर पीडित किसानलाई अझ अपमानित गर्नेगरी उखुको समर्थन मूल्य घटाउने निर्णय गरिनु किसानविरोधी र गैरजिम्मेवार कदम भएको बताए । 

माओवादी नेतृत्वको सरकार रहँदा किसानको हितलाई केन्द्रमा राखेर उखुको समर्थन मूल्यमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तोकेकोमा वर्तमान सरकारले त्यसलाई घटाएर ३५ रुपैयाँ पुर्याएकोप्रति आपत्ति जनाउँदै उनले भनेका छन्, ‘यो निर्णयले बक्यौता रकम नपाएर पहिल्यैदेखि संकटमा परेका किसानमाथि थप अन्याय थपेको छ ।’

किसान वर्ग उत्पादन प्रणालीको मेरुदण्ड मात्र नभई राष्ट्रिय अर्थतन्त्रको आधारशीला हुन् भन्ने यथार्थलाई बेलैमा आत्मसात् गरेर उखुको समर्थन मूल्य र अनुदान किसानमैत्री ढंगले पुनः निर्धारण र किसानले उठाएका सबै जायज माग गम्भीरतापूर्ण सम्बोधन गर्न माओवादीले सरकारको ध्यानाकर्षण गराएको छ । 

‘सरकारले बिचौलियाको स्वार्थका लागि सिंगो सत्ता संरचना प्रयोग गर्ने तर किसानहरुका माग बेवास्ता गर्ने प्रवृत्ति गम्भीर छ,’ अग्निले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि सरकारले किसानका माग बेवास्ता गरेमा हाम्रो पार्टी किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक एवं सशक्त बनाउँदै किसानको अधिकार, सम्मान र न्यायका लागि दृढतापूर्वक उभिने स्पष्ट पार्न चाहन्छौं ।’
 

टिप्पणीहरू