दशैं नजिकिँदै, अग्रिम टिकट अझै अनिश्चित

दशैं नजिकिँदै, अग्रिम टिकट अझै अनिश्चित

नेपालीको महान चाड बडादशैं आउन तीन साता मात्र बाँकी छ । शिक्षा, रोजगारीलगायत विभिन्न कारणले राजधानी बसिरहेका सर्वसाधारण वर्ष दिनमा एकपटक आउने दशैं मनाउन आफ्नो थातथलो फर्किन्छन् । हरेक वर्ष दशैंमा २५ लाख नागरिकले काठमाडौं उपत्यका छाड्छन् । यस वर्ष पनि सोही संख्यामा सर्वसाधारणले उपत्यका छोड्ने अनुमान लगाइएको छ । 

दशैं नजिकिँदै गर्दा सर्वसाधारणलाई एउटा चिन्ताले पिरोल्न थालेको छ । त्यो हो–अग्रिम टिकट । सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट खुलाउँछ । तर, दशैं ढोकैमा आइसक्दापनि सरकारले अग्रिम टिकट खोल्ने सुरसार थालेको छैन । विगतमा दशैं आउनुभन्दा झण्डै एक महिना अगाडिदेखि नै लामो तथा मध्यम दूरीमा चल्ने सार्वजनिक सवारी साधनको अग्रिम टिकट खोलिन्थ्यो । 

पछिल्लो समय सरकारले अग्रिम टिकट खोल्न ढिलासुस्ती गर्दा सर्वसाधारणले अनाहकमा सास्ती पाउँदै आएका छन् । यो वर्ष त झन् सरकारले अग्रिम टिकट खोल्ने विषयमा सम्बन्धित पक्षसँग छलफल नै अगाडि बढाएको छैन । यातायात व्यवस्था विभागले अग्रिम टिकटको विषयमा कुनै निर्णय नगर्दा सर्वसाधारणमा अन्यौलता कायम भएको छ । 

अघिल्ला वर्षझैं यो वर्षपनि ढोकामा झुण्डिँदै यात्रा गर्नुपर्ने होकि भन्ने त्रासमा छन्, सर्वसाधारण । सर्वसाधारण रिता ढुंगाना सरकारले सँधै यात्रुलाई दुःख दिने बताउँछिन् । ‘सरकारले सँधै यात्रुलाई दुःख दिने काम गर्छ । बेलैमा छलफल गरेर अग्रिम टिकट खुलाइदिने हो भने यात्रु टिकट काटेर ढुक्क भएर बस्थें । काम नभएकाहरु दशैंभन्दा अगावै घर जाँदै गर्थें । पछि चाप कम हुन्थ्यो’,उनले भनिन् । 

सरकार गम्भीर नबन्दा हरेक वर्ष दशैं ‘दशा’ बन्ने गरेको पुरुषोतम केसीको आरोप छ । ‘सरकारले टिकट खोलिदिन्छ, अनुगमन गर्दैन । चालकहरु ढोकैसम्म यात्रु खाँदेर लैजान्छन् । दुर्घटनाको डर मानिमानि घर जानुपर्ने बाध्यता छ । त्योपनि सरकारले तोकेकोभन्दा बढी भाडादरमा’,उनले गुनासो पोखे ।

पढ्नका लागि काठमाडौं बसेकी सिर्जना भुजेललाई घर नै जान नपाइएला भन्ने चिन्ता छ । भन्छिन्,‘पोहोरको वर्ष टिकट नै पाइएन । गाडी रिजर्भ गरेर घर जानुपर्यो । यो वर्षपनि त्यस्तै होला भनेर डर लागेको छ ।’

अग्रिम टिकटको नौटंकी, यात्रुलाई सास्ती 

सरकारले अग्रिम टिकट खुलाएपनि यात्रुले सहज रुपमा पाएको इतिहास छैन । रातिदेखि लाइन बसेपनि यात्रुले टिकट पाउँदैनन् । कलंकी, कोटेश्वरलगायत उपत्यकाका सबै बसपार्कमा टिकटका लागि यात्रुहरु बीच हारालुछ नै चल्छ । टिकट खोलेको एकाध दिनमै सकिएको भनि काउण्टरहरुले यातायात व्यवसायीको मिलीभगतमा दोब्बर मूल्यमा बेच्छन् । नियामक निकायले काउण्टरहरुमा अनुगमन नगर्दा हरेक वर्ष दशैंमा यात्रु कालोबजारीमा पर्छन् । 

यात्रुलाई भाडावृद्धिको डर 

दशैं यातायात व्यवसायीहरुका लागि कमाउने मौका हो । वर्षदिनको कमाइ यातायात व्यवसायीले दशैंमा एकैचोटि उठाउँछन् । दशैंताका लामो, मध्यम, छोटो कुनैपनि सार्वजनिक यातायातले भाडामा छुट दिँदैन । बालबालिका, विद्यार्थी, अपाङ्गता भएका र ज्येष्ठ नागरिकले पनि पुरै भाडा तिर्नुपर्छ । हरेक वर्ष दशैं आउनेबित्तिकै यातायात व्यवसायीले एउटै माग तेस्र्याउँछन्–भाडा बढाउने । 

भाडा नबढाएसम्म अग्रिम टिकट नखोल्ने भन्दै यातायात व्यवसायीले सरकारलाई तर्साउँछन् । र, सरकार पनि यातायात व्यवसायीको सामुन्ने घुँडा टेकिहाल्छ । यसवर्ष पनि सोही अवस्था दोहोरिनेमा सर्वसाधारण विश्वस्त छन् । यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भाडा नबढ्ने दावी गरेका छन् । यातायात व्यवसायीसँग छलफल नहुँदै मन्त्री दाहालले गरेको ठोकुवा कार्यान्वयन हुन्छ कि भाडा बढाइन्छ ? हेर्न बाँकी छ । 

थोत्रा गाडीले जोखिम

दशैंमा देशभर नै रुट परमिट खुल्ला हुन्छ । काठमाडौं उपत्यकामा चल्ने गाडीहरु यात्रु लिएर विभिन्न जिल्ला जान्छन् । उपत्यकामा चल्ने प्रायःजसो गाडी थोत्रा–पुराना भइसकेका छन् । ‘कण्डिशन’ ठीक नभएका गाडी उपत्यकाका सडकमा गुडिरहेका छन् । उपत्यकाका सडकमा सहज रुपले गुड्न नसक्ने गाडी गाउँका सडकमा कसरी गुड्ला ? 

सरकारले उपत्यकाबाहिर जाने गाडीको अनुगमनसमेत गर्दैन । सिसा फुटेका, सिट भाँच्चिएका, ईन्जिन ठीक नभएका गाडीहरु यात्रु खाँदेर बाहिरी जिल्ला जाँदा दुर्घटनाको अत्याधिक जोखिम हुने गरेको छ । 

उपत्यकामा गाडीको चरम अभाव 

उपत्यकामा चल्ने अधिकांश गाडी जिल्लाबाहिर जाँदा यहाँ बसोबास गर्नेहरु मर्कामा पर्ने गरेका छन् । हरेक वर्ष दशैंमा उपत्यकामा गाडीको चरम अभाव हुन्छ । अस्पताल, किनमेलमा जानुपर्नेहरुलाई सार्वजनिक यातायातको अभावले समस्यामा पार्ने गरेको छ । सर्वसाधारणले कि पैदलयात्रा गर्नुपर्छ कि ट्याक्सी चढ्नुपर्छ ।  सार्वजनिक यातायात न्यून भएको फाइदा ट्याक्सीले उठाउँछन् । 

मनलाग्दी भाडा लिएर ट्याक्सीले लुटको धन्दा मच्चाउने गरेको छ । विभिन्न सरकारी कार्यालय, सेना, प्रहरीको गाडी चाडपर्व बिदामा पार्किङ्गमा थन्किन्छ । तर, त्यो गाडी चलाएर यात्रुलाई सहज रुपमा यातायात सेवा दिनमा सरकारले चासो देखाउँदैन । सरकारले ती गाडी चलाउने हो भने यात्रुलाई निकै राहत हुने जानकारहरु बताउँछन् । 

एकाध दिनमा छलफल होलाः महानिर्देशक 

विभागका महानिर्देशक राजीव पोखरेलले अग्रिम टिकट खोल्ने विषयमा छलफल नभएको बताए । इम्बोस्ड  नम्बर प्लेटको विवादका कारण अग्रिम टिकटमाथि छलफल गर्न नसकिएको उनको भनाइ छ । उनले एकाध दिनमा छलफल हुने जानकारी दिए । 

जनआस्थासँग उनले भने,‘अहिले इम्बोस्ड नम्बर प्लेटको विवाद छ । त्यसैले अरु विषयमा छलफल नै हुन सकेको छैन । अबको एकाध दिनमा सरोकारवालालाई बोलाएर छलफल गर्छौं ।’ त्यसैगरी, उनले बाटोको एकदमै दुर्गति रहेको बताए । 

भाडा बढ्दैनः यातायात व्यवसायी 

सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले यसवर्ष भाडा नबढ्ने दावी गरे । यातायात व्यवसायीले भाडा बढाउन माग नगर्ने उनको जिकिर छ । ‘यो वर्ष भाडा बढ्दैन । अहिले तोकिएकै भाडा उठाउन गाह्रो परिरहेको अवस्थामा भाडा बढाएर कसरी उठाउनु ?’,उनले भने । 

तुरुन्तै अग्रिम टिकट खोल्नुपर्ने अभियन्ताको माग 

यातायात अभियन्ता प्रेमबहादुर थापाले सरकारले तुरुन्तै अग्रिम टिकट खोल्नुपर्ने माग गरे । टिकट खोलेर यात्रुलाई सहज रुपमा दशैं मनाउन आफ्नो थातथलो फर्किने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । ‘सरकारले बेलैमा टिकट खोलिदिए यात्रुले सहज रुपमा घर जान पाउँथे । पैसा तिरेर पनि यात्रु सँधै कोचिएर, झुण्डिएर जानुपर्ने हो र ?’,उनको प्रश्न छ ।

टिप्पणीहरू