माइतीघरमा सरकारविरुद्ध नाराबाजी
उखुको वक्यौता भुक्तानीसहित अनुदान कटौतीको निर्णय फिर्ता लिन माग गर्दै केही दिनदेखि सडक संघर्षमा उत्रिएका उखु व्यावसायी आज पनि आन्दोलित भएका छन् ।
उखु किसान सङ्घर्ष समितिको अगुवाइमा तराई-मधेसका १३ जिल्लाका किसानले माइतीघर मण्डलामा धर्ना दिएका हुन् । सरकारले हालैमात्र उखु किसानले पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँलाई ३५ रुपैयाँमा झार्ने निर्णय गरेको थियो ।
उखुको मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित हुनुपर्ने, अनुदान तत्काल उपलब्ध गराउनुपर्ने, उखुमा लगाइएको भ्याट खारेज गर्नुपर्ने किसानहरुको मुख्य माग छ । त्यसक्रममा उनीहरुले माग सम्बोधन नगरेको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरे ।
'उखु किसानको भविष्य सुनिश्चित गर', 'झुटो आश्वासन चाहिँदैन, किसान मार्न पाइँदैन', 'एकतर्फी मूल्य स्वीकार्य छैन', 'उखु कृषकमाथि शोषण बन्द गर', 'उखुको भ्याट फिर्ता गर', 'उखुको अनुदान रकम भुक्तान गर', 'किसानसँग भएको सम्झौता लागू गर' , 'हामीलाई भिक होइन हक चाहिन्छ' नारा लेखिएका प्लेकार्ड पनि देखाइएको छ ।
कार्यक्रममा सङ्घर्ष समितिका संयोजक श्यामबाबु राय, नेपाल उखु उत्पादक महासङ्घ नवलपरासी संघर्ष समितिका अध्यक्ष उमेशचन्द्र यादव, उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव लगायत छन् । आफ्ना माग सम्बोधन नहुँदासम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन जारी राख्ने उनीहरुको चेतावनी छ ।
टिप्पणीहरू