नापीका हाकिमको ६ करोडमा विभागीय प्रमुख र नेता मतियार, प्रतिवादीमा परिवार
विभिन्न राजनीतिक दलका नेतालाई प्रभावमा पारेर करोडौँ सम्पति जोडेका नापी कार्यालयका एक हाकिमविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । रुपन्देहीको जिल्ला नापी कार्यालयका अधिकृत सुग्रिव यादवविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दर्ता गरेको छ ।
यादवले विभागीय प्रमुख र विभिन्न दलका नेतालाई प्रभावमा पारेर उपसचिवसरहको प्रमुख रहने दरबन्दी रिक्त बनाएको आयोगको ठहर छ । विदेश पढ्न गएका कर्मचारीको पद र दरबन्दी कायम गरी १० वर्षदेखि निमित्त हाकिम चलाएर भ्रष्टाचार गरेको जनाइएको छ । यादवले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पति आर्जन गरेको, प्लट मिलान तथा सार्वजनिक जग्गा व्यक्तिको नाउँमा पारी करौडौंको आर्थिक चलखेल गरेको दावी पनि अख्तियारको छ ।
२०५३ असार १३ गते सेवामा प्रवेश गरेका यादवको ०८१ असार १६ गतेसम्मको पारिश्रमिक, विभिन्न बैठक भत्ता, जग्गा बिक्री, बैंक ब्याज, कृषिलगायतबाट कुल नौ करोड तीन लाख आम्दानी गरेकोमा खर्च भने १४ करोड ८३ लाख गरेको आरोप पत्रमा उल्लेख छ । यसर्थ, अधिकृत यादवले पाँच करोड ७९ लाख बराबरको सम्पति गैरकानुनी ढंगले आर्जन गरेको अख्तियारको दावी छ । सोही रकम बराबरको बिगो कायम गरिएको छ ।
यादवलाई भ्रष्टाचार निवारण ऐन ०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद सजाय माग गरिएको छ । उनले अवैध रुपमा आर्जन गरेको सम्पति जफत गर्ने प्रयोजनले श्रीमती गायत्री यादव, छोराहरु सुधान्सु र शुभमलाई समेत प्रतिवादी बनाइएको छ ।
टिप्पणीहरू