नयाँ आईजिपी खापुङ : ‘सपनामा हो कि विपनामा’

नयाँ आईजिपी खापुङ : ‘सपनामा हो कि विपनामा’

नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजिपी)मा नियुक्त चन्द्रकुवेर खापुङ साहित्यकार तथा गीतकार पनि हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुख रहेका एआईजी खापुङलाई आज बिहानको मन्त्रिपरिषद् बैठकले आईजिपीमा नियुक्त गर्ने निर्णय गरेको छ ।

आईजिपी दीपक थापा आगामी बुधबारदेखि अनिवार्य अवकाशमा जान जाँदैछन् । १९ गतेदेखि नेपाल प्रहरीको नेतृत्व खापुङले सम्हाल्ने छन् । महानिरीक्षकमा नियुक्तीसँगै यतिबेला प्रहरी सेवामा खापुङको संघर्ष र योगदानबारे चर्चा भइरहेको छ । तर, उनी साहित्यकार/गीतकार भएको पाटोबारे कसैले चर्चा गरेका छैनन् । 

२०२७ मंसिर २३ गते तेह्रथुमको मेन्छ्यायोम गाउँपालिकामा–६ मा जन्मिएका खापुङ सानैदेखि साहित्यमा रुची राख्थे । प्रहरी सेवामा रहँदा उनले दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन् ।

दुई महिनाअघि मात्रै ‘सुवास बनेर आउनु तिमी’ बोलको गीत बजारमा ल्याएका थिए । युवा पुस्ताकी चर्चित गायिका मेलिना राईले स्वर दिएको उक्त गीतमा पुराना संगीतकर्मी वसन्त सापकोटाले संगीत भरेका छन् । भिडियोमा अभिनेत्री प्रियंका कार्की फिचर्ड छिन् । 

खापुङकै शब्द रचना रहेको अर्को गीत छ, ‘तिमी बिनाको जिन्दगी’ । आरके बुद्धको स्वर र आलोक श्रीले संगीत भरेको उक्त गीतको भिडियोमा खापुङ स्वयंले पनि छोटो भूमिका पनि निभाएका छन् । भिडियोमा उनको अभिनय औसत देखिन्छ । 

‘अजम्बरी जीवन हैन’ बोलको गीतमा पनि खापुङ र संगीतकार आलोक श्रीले सहकार्य गरेका छन् । उदय सोताङले स्वर दिएको उक्त गीतको भिडियोमा खापुङले भ्वाइसओभर समेत गरेका छन् । 

भन्छन् :
‘यो आकाश, यो धर्ती र यो दुनियाँ रहेसम्म

यो नदी, यो हावा बहेसम्म 
यो सागर, हिमाल रहेसम्म
हाम्रो नाता रहिरहनेछ ।’

खापुङले लेखेको ‘सपनामा हो कि विपनामा’ बोलको अर्को गीत पनि दर्शकमाझ लोकप्रिय छ । किरण भुजेल र अनुमा चौधरीले स्वर दिएको उक्त गीतको भिडियोमा मोडल पुनम श्रेष्ड र सुरेश कोहली फिचर्ड छन् । 

त्यस्तै, खापुङको ‘छोडी जाने निष्ठुरी’ बोलको गीतले पनि राम्रो चर्चा पाएको थियो । यी बाहेक उनले दर्जनौँ गीत र कविता लेखेका छन् ।

टिप्पणीहरू