उद्योग संघमा उपाध्यक्ष मिलाउन अप्ठेरो

उद्योग संघमा उपाध्यक्ष मिलाउन अप्ठेरो

चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरे आजबाट स्वतः अध्यक्ष हुँदैछन् । संघको वार्षिक साधारणसभा तथा १८ औं अधिवेशन आज सम्पन्न हुन लागेको हो ।

संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था छ । अहिलेको समितिका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष मदन घिमिरेले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

संघ अन्तर्गतका पालिका समिति र महिला तथा युवा उद्यमी मञ्चको चुनाव भइसकेको छ । जिल्ला संघको ३१ जनाको नयाँ बन्ने कार्यसमितिमा ६ जना पालिका समितिका अध्यक्ष र दुईजना महिला तथा युवा उद्यमी मञ्चका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था छ । 

जसअनुसार नवनिर्वाचित रत्ननगर अध्यक्ष सुवासचन्द्र गौतम, खैरहनी अध्यक्ष प्रतिभा श्रेष्ठ, कालिका अध्यक्ष अन्तोष बमजन, राप्ती अध्यक्ष खिलप्रसाद घिमिरे, माडी अध्यक्ष जिताराम महतो र इच्छाकामना अध्यक्ष रामहरि कंडेल स्वतः नयाँ बन्ने जिल्ला कार्यसमितिमा पर्नेछन् ।  

यसैगरी, महिला उद्यमी मञ्चबाट अध्यक्ष सरिता खनाल पौडेल र युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडी पनि जिल्ला संघको कार्यसमिति सदस्य भइहाले ।

निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पनि जिल्ला समितिमा पदेन सदस्य रहने व्यवस्था छ । पछि कार्यसमितिले मनोनयन गर्ने दुईजना सदस्य बाहेक अन्य सदस्यहरुको पनि कोटा मिलिसकेको जनाइएको छ ।

६ जना उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । अर्जुनप्रसाद सापकोटा, परमेश्वर भण्डारी, विशाल चापागाईं, ताराबहादुर कार्की, गजेन्द्र अधिकारी, गोपाल प्रसाद गैरे, दिनुपकुमार बराल र खिलप्रसाद घिमिरेको उपाध्यक्षमा उम्मेदवारी परेको हो । 

सकेसम्म सर्वसम्मत कार्यसमिति बनाउने प्रयास भइरहेको छ । उम्मेदवारको अन्तिम नामावलीको लागि अझै अहिले ११ बजेसम्म समय दिइएको संघले बताएको छ । नमिले निर्वाचन प्रक्रिया सुरु हुनेछ । 

मतदाता नामावलीमा ७४९ जनाको नाम छ ।  नयाँ निर्वाचित हुने ६ जना उपाध्यक्षमध्येबाट एक वर्षभित्र वरिष्ठ उपाध्यक्ष चयन गर्ने चलन हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । नयाँ बन्ने कार्यसमितिको कार्यकाल दुईवर्ष रहनेछ ।

– अजय गोर्खाली

टिप्पणीहरू