सरकारलाई गिज्याउने रोल्पाको पुल
कर खानेलाई सुविधाको खातै खात,कर तिर्नेलाई पुलकै अभाव ! प्रसंग नागरिकमाथि राज्यले गरेको विभेदको हो । प्रदेशका मुख्यमन्त्री र संघका मन्त्रीहरुका लागि राजधानीमा आलिशान महल बन्दा नागरिकलाई खोला तर्ने पुलसमेत छैन । देशमा तीन तहको सरकार हुँदा अझै पनि गाडीलाई डोरीले बाँधेर खोला तार्नुपर्ने विडम्बनापूर्ण अवस्था छ ।
रोल्पाको गंगादेव गाउँपालिकाको कार्यालयअगाडि रहेको सुखाओडार खोलामा पुल छैन । अरु बेला सो खोलाबाट जसोतसो गाडी चले पनि बर्खाको बेला डोरीले बाँधेर तान्नुपर्छ । जीपलाई बाँधेर दशौं जनाले खोला पार गराइरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । अर्बौ रुपैयाँ खर्च गरेर भ्युटावर ठड्याउन सक्ने सरकारसँग सो खोलामा पुल बनाउन पैसा छैन ।
पुल नहुँदा स्थानीयले हरेक वर्ष बर्खामा एकदमै सास्ती खेप्नुपरेको छ । एक स्थानीय भन्छन्,‘अरु बेला जसोतसो खोला तरिन्छ । बर्खामा धेरै गाह्रो हुन्छ । कुनै गाडी आयो भने स्थानीयले खोलाभित्रै पसेर तान्छन् । पुल बनाउन पटकपटक माग गर्दा पनि कसैले सुन्दैन ।’ गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले खोलामा पुल बनाउन राज्यले बजेट नै नदिएको बताए ।
आफ्नो गाडी पनि दिनहुँ त्यसैगरी तार्ने उनको भनाइ छ । ‘सबै गाडीलाई त्यसैगरी खोला पार गराउने हो । पुल बनाउन बजेट माग गरेको हो । नदिएपछि के गर्नु ?’,उनले भने । चालु आर्थिक वर्षको बजेटमा पुल निर्माणका लागि रकम विनियोजन गरिएको उनले जानकारी दिए । अगाडि थपे,‘यसपालि चाँहि बजेट छुट्याएका छौं । सर्भे भइसकेको छ । छिट्टै नै काम अगाडि बढ्छ ।’
टिप्पणीहरू