प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगको निर्देशन

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र मौलाउँदो भ्रष्टाचारविरुद्ध देशभरका विभिन्न शहरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको पाइएको भन्दै आयोगले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

आयोगले यसबाट हुनसक्ने मानव अधिकार उल्लंघनको जोखिमप्रति सचेत हुनसमेत भनेको छ । ‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनबमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रुपमा आफ्ना विमति राख्ने अधिकार छ । लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरुको समयमै यथोचित संवोधन गर्नुपर्दछ । यस प्रकारका प्रदर्शनहरु तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,’ आयोगले भनेको छ । 

आयोगले थप क्षति हुन नदिन उच्च सुरक्षा व्यवस्था मिलाउन, आन्दोलनरत पक्षको तत्काल माग सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको निःशुल्क उपचार गराउन र घटनाको निष्पक्ष र सुक्ष्म अध्ययन गरी दोषीलाई कडा कानूनी कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । साथै, आफ्नो प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन प्रदर्शनरत पक्षलाई समेत आयोगको आग्रह छ ।

टिप्पणीहरू