निर्वाचनलाई भयरहित बनाउन सरकारको ध्यानाकर्षण
आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनलाई भयरहित बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै आवश्यक सुरक्षा, विश्वास र अनुकूल वातावरण सुनिश्चित नभएसम्म दलहरु निर्वाचनमा भाग लिन नसक्ने स्पष्ट पारेका छन् ।
‘आम मतदाता तथा सर्वसाधारण नागरिकहरुबीच यस्तो त्रासको वातावरण कायमै रहँदा निष्पक्ष, स्वतन्त्र र विश्वासनीय निर्वाचन सम्भव नहुने भएकाले सरकारबाट आवश्यक सुरक्षा, विश्वास र अनुकूल वातावरण सुनिश्चित नभएसम्म हामी तपसिलमा उल्लेखित दलहरु निर्वाचन प्रक्रियामा सहभागी हुन नसक्ने जानकारी सम्मानपूर्वक गराउँदछौं’,पत्रमा उल्लेख छ ।
त्यस्तै, उनीहरुले सरकारसमक्ष पाँच सूत्रीय माग पनि राखेका छन् । जसमा भ्रष्टाचारको फाइल खोल्नुपर्ने, अन्तरिम सरकारको पुनःनिर्माण गरी निर्वाचनको घोषणा, मँहगो र खर्चिलो निर्वाचन प्रणालीको अन्त्य, थ्रेस होल्ड प्रणाली खारेज गर्नुपर्ने रहेको छ । गत पुस ६ गते नागरिक बचाऊ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँको नेतृत्वमा नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा ‘आसन्न निर्वाचन र र राजनीतिक दलहरुको सामूहिक अवधारणा’ विषयमा छलफल भएको थियो ।
उक्त बैठकमा नागरिक बचाऊ दलका सभापति माधव खतिवडा, राष्ट्रवादी एकता पार्टीकी अध्यक्ष उमा श्रेष्ठ, नेपाल समावेशी पार्टीका अध्यक्ष केशव पोखरेल, आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष कृष्णगोपाल बञ्जारा, नेपाल समाजवादी पार्टीका अध्यक्ष गोविन्द निरौला, देशभक्त समाज पार्टीका अध्यक्ष द्रोण अधिकारी, राष्ट्रिय विकास पार्टीका अध्यक्ष राजेन्द्र साह, प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष अमर केसी, राष्ट्रिय समता पार्टीका अध्यक्ष विजयप्रकाश निषाद, निमूल नेपाल काँग्रेस पार्टीका अध्यक्ष गोविन्द इग्नाम, स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता स्वागत नेपाल, यातायात व्यवसायी महासंघका संरक्षक होमप्रसाद अधिकारी र वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने उपस्थित थिए ।
सोही टोलीले पुस ११ गते सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
टिप्पणीहरू