हर्क साम्पाङले मिसावटको राजनीति नगर्ने, देश जलाउनेहरूले मिडिया ट्रायल गरेको आरोप
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्कराज सम्पाङ राईले आफूहरू कसैसँग पार्टी एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
रवि लामिछानेको रास्वपा र काठमाडौँका मेयर बालेन्द्र साहबीचको एकता प्रक्रियामा श्रम संस्कृतिलाई पनि मिसाउन लागेको चर्चा भैरहेका बेला हर्कको यो प्रतिक्रिया आएको हो । केही बेरअघि फेसबुकबाट भिडियो सन्देश जारी गर्दै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताए ।
‘अहिले चुनावको बेला छ । धेरै मान्छेले धेरै खालका कुरा गरिरहेका छन् । कतिले यस्तो भन्छन्, कतिले उस्तो भन्छन् । योसँग मिल्ने त्योसँग मिल्ने यो त्यो भनिरहेका हुन्छन् । जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ । श्रम संस्कृति कोही कसैसँग मिल्दैन’, उनले क्लिएरकट कुरा गर्दै भने, ‘मिसावट विनाको राजनीति गर्छ श्रम संस्कृतिले । यो देशको ढुंगाको, माटोको राजनीति गर्छ ।’
आफ्नो पार्टीले स्वदेशी बिचारसहितको मौलिकता आधारित राजनीति गर्ने बताउँदै हर्कले एक्लै अगाडि बढ्ने दोहोर्याए । कसैसँग एकता गर्छ कि भनेर नअल्मलिन उनले कार्यकर्ता र शुभेच्छुकलाई आग्रह पनि गरेका छन् ।
समाजमा बढिरहेको बिकृतिको समूल नष्ट र असल संस्कृतिको विकास गर्न श्रम संस्कृति पार्टीको विकल्प नभएको उनको भनाइ छ । भ्रष्टाचार गरेर कमाएको पैसा खाने पालित-पोषित मान्छेले आफ्नो पार्टीको विषयमा मिडिया ट्रायल गरेको भन्दै हर्कले त्यस्ता कुरा नपत्याउन सबैलाई अपिल गरेका छन् ।
पुराना दल र रवि-बालेनतर्फ इंकित गर्दै उनले देश जलाउन बाध्य पार्ने र जलाएर खरानी पार्ने दुवै तत्व मुलुकको अस्तित्व ध्याउन लागि परेको जिकिर गरे ।
टिप्पणीहरू