चुनावी राजनीतिबाट विश्राम लिँदै पम्फा भुसाल

चुनावी राजनीतिबाट विश्राम लिँदै पम्फा भुसाल

नेपाली कम्युनिष्ट पार्टीकी नेता पम्फा भुसालले चुनावी राजनीतिबाट विश्राम लिने भएकी छन् । उनले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भुसालले नयाँ र युवालाई अवसर दिन चुनावी दौडबाट बाहिर रहने निर्णय गरेको जानकारी दिइन् । आफू अब पार्टी राजनीतिमै सक्रिय रहने उनको भनाइ छ । 

'यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटक पटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु', भुसालले भनेकी छन्, 'अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।'

आफूलाई ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट चुनाव लड्न प्रस्ताव आएको बताउँदै उनले त्यसप्रति सबैलाई धन्यवाद दिएकी छन् । तर अब फरक भूमिका रहेर पार्टीका उम्मेदवारलाई जिताउन लागि पर्ने भुसालले बताइन् । 

'यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन म सक्रिय भूमिका निर्वाह गर्नेछु । साथै, अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ', उनको भनाइ छ, 'त्यसैले अपवादबाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ ।'

नेपालको वामपन्थी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी भुसाल यसअघि पटक-पटक सांसद र मन्त्री भैसकेकी छन् । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जित्ने एक्ली महिला उम्मेदवार पनि हुन् उनी ।

टिप्पणीहरू