एसएसपीकै प्रमाणपत्र नक्कली
नेपाल प्रहरीका प्राविधिक वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीको शैक्षिक प्रमाणपत्र नक्कली पाइएको छ । उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
गिरी हाल काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् । उनले २०५२ पुस १६ गते प्रहरीको प्राविधिक नायब निरीक्षक (सई) पदबाट नियुक्ति लिएका थिए । नियुक्तिका क्रममा उनले ‘पोस्ट बेसिक नर्सिङ्ग’ मा स्नातक उतीर्ण गरेको प्रमाणपत्र पेश गरेका थिए ।
तर, उनको माध्यमिक तह (एसएलसी) कै प्रमाणपत्र नक्कली रहेको अख्तियारको ठहर छ । अख्तियारका अनुसार गिरीको एसएलसीको प्रमाणपत्र सन् १९८८ मा भारतको पटनास्थित बिहार विद्यालय परीक्षा समितिबाट जारी भएको उल्लेख छ ।
सो प्रमाणपत्रमा उनको रोल नम्बर ७१८ रहेको छ । तर, समितिबाट ५७६ रोल नम्बरले मात्र परीक्षा दिएको र प्रमाणपत्र छापिएको जानकारी प्राप्त भएको अख्तियारको ठम्याई छ ।
गिरीले सोही प्रमाणपत्रका आधारमा ०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल इन नर्सिङ्ग र ०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक नर्सिङ्ग इन ब्याचलरको योग्यता प्राप्त गरेको अख्तियारले जनाएको छ ।
साथै, सोही नक्कली सर्टिफिकेटका आधारमा प्रहरी सेवामा नियुक्ति लिएको, बढुवा हुँदै हाल एसएसपीमा कार्यरत रहेको र विभिन्न तालिम र सुविधा लिएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।
टिप्पणीहरू