संविधानको पक्षमा धमाधम संकल्प
जेन-जी आन्दोलनपछि मुलुकमा उत्पन्न विषम परिस्थितिलाई संवैधानिक दायराबाट निकास दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
सैनिक मुख्यालय जंगीअड्डामा भैरहेका वार्ता र संविधान निलम्बन गरी नयाँ सरकार बनाउने तयारीबारे विभिन्न चर्चा भैरहँदा युवा-विद्यार्थीसहित प्रमुख राजनीतिक दलका नेता,बुद्धिजीवी, नागरिक समाजका अगुवाहरूले संवैधानिक सर्वोच्चताको पक्षमा आवाज उठाएका हुन् ।
आज बिहानदेखि नै पार्टीका भात्री संगठनहरू संवैधानिक सर्वोच्चताको पक्षमा सडकमा ओर्लिएका छन् । बिहान काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा नेकपा एमाले र एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका थिए ।
दिउँसो तीनकुनेमा गणतन्त्र र संविधानको पक्षमा नेकपा माओवादी केन्द्रको भात्री संगठन वाईसियल, अखिल क्रान्तिकारी र मजदुर संगठनले जुलुस निकालेका छन् । नेविसंघले बबरमहलमा प्रदर्शन गरेको छ ।
प्रमुख तीन पार्टीका पूर्व विद्यार्थी अध्यक्षहरूले पनि केहीबेरअघि संयुक्त विज्ञप्ति निकालेर संवैधानिक सर्वोच्चता विपरीत नजान सचेत गराएका छन् । हिजो माओवादी, एमाले र नेपाली कांग्रेसका युवा नेताहरूले पनि त्यस्तै विज्ञप्ति निकालेका थिए ।
यता, नागरिक समाजका अगुवा र बुद्धिजीवीहरूले पनि २०७२ सालको संविधानलाई कुल्चेर गरिने कुनै पनि निर्णय आफूहरुलाई मान्य नहुने प्रष्ट चेतावनी दिएको अवस्था छ । नेपाल बौद्धिक परिषदले संवैधानिक सर्वोच्चता र कानुनी शासनमा खलल नपार्न सबैलाई आग्रह गरेको अवस्था छ ।
आजै नेपाल बारको अगुवाइमा बरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु श्रेष्ठ, शेरबहादुर केसी र सतिशकृष्ण खरेलसहितले जेन-जी युवाको टिमसँग भर्चुअल अन्तरक्रिया गरेका छन् । संविधान र संसदभित्रैबाट अहिलेको निकास खोज्नेबारे संवाद भएको बताइएको छ ।
यता, कांग्रेस, एमाले र माओवादीका युवा नेताहरू संयुक्त छलफलमा जुटेको खबर छ ।


टिप्पणीहरू