खरानीमाथि राजनीति नगर्न सिंहदरबारभित्रै चेतावनी
नेपाल टेलिभिजनमा कार्यरत कर्मचारीहरुलाई संस्थाभित्रको एकता र सुमधुर कार्य वातावरणलाई धुमिल पार्नेगरी भ्रामक समाचार नेलख्न र नलेखाउन सचेत गराइएको छ । टेलिभिजन कर्मचारी युनियन र टेलिभिजन कर्मचारी संघले जटिल समयमा सबैजसो कर्मचारीहरुले गरेको सामूहिक योगदानलाई नजरअन्दाज गरी एक जनालाई मात्र पृष्ठपोषण गर्ने उद्देश्यबाट प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचारमा कुनै सत्यता नरहेको ठहर गरेका हुन् ।
दुवै संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा भदौ २४ गतेको विध्वंशमा सिंहदरबारभित्र रहेको नेपाल टेलिभिजनको कार्यालय भवन जोगिनुमा व्यक्तिगत नभई सामूहक पहल रहेकोमा कुनै द्विविधा नरहेको जनाइएको छ । त्यस दिन कार्यालय बाहिर र भित्र उत्पन्न घटनाको भिडियो सुरक्षित रहेको स्मरण गराउँदै ती संगठनले अन्य कर्मचारीहरुको मनोभावनामा खेल्ने कुनैपनि नाजायज कुरा र कार्य स्वीकार्य नहुने चेतावनी दिएका छन् । यसअघि आफू केन्द्रित उद्देश्य राखेर लेख्न लगाइएका समाचार सच्चाउन र गल्तीबोध गर्न सम्बन्धित कर्मचारीलाई आग्रह गरेको छ ।

‘नेपाल टेलिभिजनसँग जोडिएर जुन खालका भ्रामक सामग्रीहरु आएका छन्, त्यो पूरै सत्य नरहेको र सही मनसायले नआएको हुँदा त्यस्तो भ्रममा नपर्न हामी सबैमा आग्रह गर्दछौं । यो जे जति सम्भव भएको छ, त्यो व्यक्तिगत पहल नभई सामूहिक पहलबाट सम्भव रहेको यथार्थ बुझ्न हामी सबैमा अनुरोध गर्दछौं’,विज्ञप्तिमा उल्लेख छ ।
देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा एकतालाई थप मजबुत बनाएर जानुपर्ने उल्लेख गर्दै संगठनले उच्च मनोबलका साथ आफ्नो काममा लाग्न भनेको छ । आन्दोलनको नाममा भएको विध्वंशको खरानीमा रोटी सेक्न खोज्ने टेलिभिजनका केही ‘मौसमी’ कर्मचारीले संस्था र अन्य इमान्दार कर्मचारीको मनोभावनामा चोट पुर्याउने उद्देश्यले लेखाएको प्रायोजित समाचारपछि संस्थाको कार्य वातावरण बिग्रेको बताइन्छ ।
टिप्पणीहरू