घाइते अस्पतालमा, बालेन कता ?

घाइते अस्पतालमा, बालेन कता ?

जेन–जी आन्दोलनको नाममा मचाइएको विध्वंसमा ठूलो धनजनको क्षति भएको छ । ७४ जनाको निधन भएको छ भने सयौँ घाइते छन् । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीबाट भएको क्षतिको हिसाब गर्नै सकिने अवस्था छैन ।

सत्ता पलटको तहमा पुगेको उक्त विध्वंसपछि मुलुकले नयाँ अन्तरिम सरकार पाएको छ । ७३ वर्षीया पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको उक्त सरकारले निर्दलीय व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेको छ । तर, जसको बलमा यो परिवर्तन सम्भव भएको थियो, ती आन्दोलनकारीहरू उपेक्षामा परेको जनाइएको छ । अस्पतालमा रहेका घाइतेलाई भेटेर सान्त्वना दिने जाँगरसमेत कतिपय नेताहरूमा देखिएको छैन ।

विशेषगरी युवा मनोविज्ञानलाई भड्काएर आन्दोलनलाई हिंसात्मक बनाएको आरोप लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह अझैसम्म घाइतेलाई भेट्न गएका छैनन् । जबकि, उनकै नाम लिएर धेरैले गोली खानसमेत तयारी देखाएका थिए ।

प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट मात्र सुशीला कार्की र जेन जी प्रदर्शनका प्रमुख स्टेकहोल्डर दाबी गर्दै आएको ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सुदन गुरुङ केही अस्पताल पुगेका थिए । तर, उनले पनि सबै घाइतेलाई भेटेका छैनन् ।

संसद् विघटनको परिस्थिति सिर्जना गरेर देशमा संवैधानिक शून्यता ल्याउने मुख्य योजनाकारको रूपमा चिनिएका बालेन न आजसम्म घाइतेलाई भेट्न पुगेका छन्, न ध्वस्त पारिएका भौतिक संरचनाको अवलोकन गरेका छन् । बरु, फागुनको मध्यावधि चुनावअघि दल दर्ता गर्ने योजनामा रहेका उनी सामाजिक सञ्जालमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग जुहारी खेल्न व्यस्त देखिन्छन् ।

यसले उनका समर्थकहरूलाई समेत प्रश्न सोध्न बाध्य पारेको छ– के साँच्चै बालेनसँग संवेदना छैन ? दिवस भट्टराईले उनलाई कोठाबाहिर निस्कन सुझाव दिँदै प्रश्न गरेका छन्, ‘फेसबुकमा रमिता देखाएर हुँदैन । के साँच्चै लोकप्रियताले तिम्रो संवेदना मरेको हो ?’

लिला दाहालले पनि बालेनलाई अस्पतालमा पुगेर घाइते भेट्न आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘फेसबुकमा स्टाटस लेखेर घाइते निको हुँदैनन्, अस्पताल गएर अवस्था बुझ ।’

यता, प्रदीप सुवेदीले भने फरक शैलीमा टिप्पणी गरेका छन्, ‘पहिले नशामुक्त बनेर फिल्डमा आउ । कोठामा बसेर झ्याप हुँदै स्टाटस लेख्दैमा देश चल्दैन ।’

टिप्पणीहरू