प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई

प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत छेन प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर बधाई ज्ञापन गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्री कार्कीले चीनलाई मित्रवत् छिमेकी तथा नेपालको महत्वपूर्ण साझेदारका रूपमा औंल्याउँदै नेपाललाई चीनले उपलब्ध गराउँदै आएको दीर्घकालीन सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ । नेपालले दृढतापूर्वक ‘एक चीन नीति’लाई पालन गर्ने र नेपालको भू–भागलाई चीनविरुद्ध वा पृथकतावादी गतिविधि सञ्चालन गर्ने कुनै पनि शक्तिलाई कहिल्यै प्रयोग गर्न नदिने वचनबद्धता पनि उहाँले जनाउनुभएको छ ।

प्रधानमन्त्रीले नेपाल चीनसँगको आदानप्रदान र सहकार्यलाई निरन्तर मजबुत बनाउन इच्छुक रहेको उल्लेख गर्दै चीनको सहयोगमार्फत राष्ट्रिय विकास र समृद्धिको दिशामा निरन्तर प्रगति गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

प्रत्युत्तरमा राजदूत छेनले चीनले नेपालसँग कायम रहेको घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्दै नेपालको विकासमा चीनको सहयोग सँधै रहने बताउनुभयो ।
 

टिप्पणीहरू