ज्युँदो भगवान : सबैका कुमारी, धेरैका मीनबहादुर

ज्युँदो भगवान : सबैका कुमारी, धेरैका मीनबहादुर

भदौ २४ गतेको ध्वंसमा भाटभटेनी सुपरस्टोरका २८ शाखामध्ये १२ वटा पूर्ण रूपमा खरानी बनाइएको छ । बालुवाटारमा रहेको ठूलाे वेयरहाउस (स्टाेर) सहित ती शाखामा चोरी, डकैतीपछि आगजनी गरिएको थियो । नौ शाखामा तोडफोड र चोरी भए भने सात शाखा जोगिएका थिए। क्षतिग्रस्तमध्ये अहिले भाटभटेनीले १६ शाखा पुनः सञ्चालनमा ल्याइसकेको छ, १२ शाखा बन्द छन् ।

भाटभटेनी सुपरस्टोरले क्षति पुगेका शाखा सञ्चालनमा आउन नसके पनि आफ्ना कुनै पनि कर्मचारीलाई दशैंको मुखमा रोजगारी गुम्न नदिने, विगतमा जस्तै यस पटक पनि दशैं खर्च, तलब दिने घोषणा गरेको छ । भाटभटेनीका सबै स्टोरमा गरेर १५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । तिनका परिवारसहित लाखौं नेपालीको जीविकोपार्जन यसैसँग जोडिएको छ । सोही कारण, भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङ धेरै कर्मचारी र तिनका परिवारले ‘ज्युँदो भगवान’को उपमा दिएका छन् ।

उनले यसअघि पनि उनले विभिन्न अस्पताल निर्माण र ग्रामीण भेगका अब्बल विद्यार्थीलाई डाक्टरी पढाउन अर्बौैं खर्चेका छन् । दैवी तथा प्राकृतिक प्रकोपमा सरकारी कोषमा पटक पटक पचासौं करोड सहयोग गरिसकेका छन् । एक व्यवसायीको हैसियतले गरिएको योगदान, राज्य र आफ्ना कर्मचारीप्रति देखाएको संरक्षणकारी भूमिकाले उनलाई सामान्य व्यापारीभन्दा फरक बनाएको छ । दर्जन स्टोर खरानी, अर्बौंको साामान खरानी, लुटपाटको अवस्थाबाट दुःखमा परेका कर्मचारी परिवारका लागि गुरुङ आस्थाको आधार बनेका छन् ।

यता, जीवित देवी कुमारी भने हिन्दू र बौद्ध धर्मावलम्बी दुवै समुदायका लागि परम्परागत रूपमा ‘जीवित भगवान’ मानिन्छिन् । शताब्दीऔं देखिको सांस्कृतिक विश्वासबमोजिम कुमारीलाई हिन्दू र बौद्ध धर्मावलम्बीसँगै नेपाली समाजले साझा देवीको रूपमा पूज्दै आएको छ ।

पछिल्लो समय नेपालमा ‘ज्युँदो भगवान’ को उपमा फरक रूपमा प्रकट भएको छ । एकातिर धार्मिक–सांस्कृतिक आस्थाको केन्द्र कुमारी सबै नेपालीका साझा देवीका रूपमा विराजमान छिन्। अर्कोतिर, इतिहासकै सर्वाधिक पीडामा रहेको बखत पनि हजारौं कर्मचारी र तिनका परिवारका लागि जीवनयापनको आधार बनेका मीनबहादुरलाई व्यवहारिक जीवनमा ‘ज्युँदो भगवान’को रूपमा लिइएको छ ।
                                           भाटभटेनी स्टोर काठमाडौंको नक्साल र बालुवाटारबीच रहेको भाटभटेनी मन्दिरको नाममा राखिएको हो । नजिकैको प्रख्यात मन्दिरको नाम राखिएको स्टोरका मालिक स्वयम् हजारौं कर्मचारी, तिनका आश्रित परिवार र अन्य पेशा तथा व्यवसायसँग आवद्धका लागि कलियुगमा पनि भगवानकै रुपमा प्रस्तुत भएका छन् ।
देवी कुमारी आस्था र परम्पराको प्रतीक हुन् । मीनबहादुर श्रम र जीविकोपार्जनको प्रतीक बनेका छन् । दुवैलाई नेपाली समाजले आ-आफ्नै कोणबाट सम्मान गरेको तथ्यले नेपालमा देवत्व र मानव योगदानलाई एकैसाथ ‘भगवान’ को हैसियतमा व्याख्या गर्ने सनातन परिपाटीलाई हामै्र सामुन्ने उजागर गरिदिएको छ ।

टिप्पणीहरू