'सुदनलाई पछ्याउने उनकै पुराना दुश्मन'
जेन जी ध्वंसपछि गठित सरकारको स्टेकहोल्डर दावी गर्दै सत्तामा भागबण्डा खोजिरहेको गैरसरकारी संस्था ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले हिजो बिहान एक भिडियो सार्वजनिक गर्दै विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले आफूमाथि आक्रमणको प्रयास गरेको बताए । पहिचान नखुलेका युवाहरुले बारम्बार आफूलाई पछ्याएर आक्रमणको योजना बनाएको उनको दाबी छ ।
‘अहिले राजनीतिक दलका केटाहरु मेरो फ्यान भएर खुब फलो गरेको देखिरहेको छु’, सिसिटिभीको फुटेज सेयर गर्दै उनले भनेका छन्, ‘तर मैले तिमीहरुलाई जुन दिन भेट्छु नि...मेरो हातमात्रै पर्यौ भने नि....आफ्नो सुरक्षा त आफैँ गर्नुपर्यो !’
गुरुङले साताअघि पनि यस्तै भिडियोमार्फत् आफूलाई अज्ञात समूहले रानीबारीदेखि नयाँ बानेश्वरसम्म पछ्याएको बताएका थिए । पछ्याउने युवा राजनीतिक दलका कार्यकर्ताहरु नै रहेको उनको भनाइ थियो । तर, गुरुङले दाबी गरेजस्तै के साँच्चै राजनीतिक दलका कार्यकर्ताले उनलाई आक्रमणको योजना बनाएका हुन् त ?
निकटस्थ स्रोत भन्छ, ‘होइन, ती पछ्याउनेहरू गुरुङकै पुराना दुश्मन हुन् ।’ स्राेतका अनुसार ठमेलका विभिन्न नाइट क्लबमा काम गर्दा प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी उर्फ चरी डनसँग गुरुङको लामो संगत थियो । त्यतिबेलाका अर्का चर्चित गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे र चरी समूहका युवाबीच ठमेलका विभिन्न नाइट क्लबमा प्रायः दिनहुँ कुटाकुट हुने गथ्र्यो । त्यसक्रममा चरी निकट मानिएका गुरुङको पनि थुप्रैसँग दुश्मनी रहेको बताइन्छ ।
०७१ साउनमा चरी प्रहरी इन्काउन्टरमा मारिएपछि गुरुङसहितका युवाहरू केही समय भूमिगत भए । त्यसको एक वर्षपछि घैंटे पनि प्रहरी इन्काउन्टरमै मारिए । त्यसपछि बल्ल सुदन गुरुङ बाहिर निस्किएका हुन् ।
संयोग के भने विगतमा गर्दै आएको डिजे कामलाई च्वाट्टै छाडेर त्यहि वर्ष उनी गैरसरकारी संस्थासँग जोडिए । ‘ठमेलमा राज गर्ने होडबाजी चल्थ्यो, त्यतिबेला उनीहरु (गुरुङसहितका युवाहरु) चरीका केटा हुन् भन्ने थियो’, स्रोतले सुनायो, ‘घैंटेका केटाहरुसँग ठमेलमा प्रायः लफडा भइरहथ्यो, त्यतिबेला जहाँ भेट्यो, त्यहीँ ठोक्ने योजना हुन्थ्यो, उनीहरु (गुरुङ) चाहिँ चरीको इन्काउन्टरपछि केही समय लुकेर बसे ।’
चरी र घैंटेको इन्काउन्टरपछि गुरुङ बाटो परिवर्तन गर्दै गैरसरकारी संस्थामा जोडिएको देखिन्छ । विगतको सोही पृष्ठभूमिका कारण अहिले उनलाई पछ्याउने युवा राजनीतिक दलका कार्यकर्ता नभई पुराना दुश्मन नै रहेको स्रोतको दाबी छ ।
‘अस्ति पनि बाइक र कारले फलो गर्यो भन्दै थियो, आज पनि फलो गरिरहेका छन् भनिरहेका छन्’, स्रोत थप्छ, त्यस्तो हो भने प्रहरीलाई खबर गर्नुपर्दैन ? जानकारी गराउनुपर्दैन ? गाडी र बाइकको नम्बर नोट गर्न सकिँदैन ? पुराना दुश्मनलाई राजनीतिक दलका कार्यकर्ता भन्दैमा अतित लुकाउन सकिन्छ र ?’
जेन जी प्रदर्शनसँगै गुरुङ चर्चामा आएपछि उनका पुराना दुश्मनहरु पनि सक्रिय भएको विश्लेषण सुरक्षा निकायले गरेको छ ।
टिप्पणीहरू