अध्यक्ष बेखबर, सदस्यद्वारा आफैँलाई कार्यवाहक

अध्यक्ष बेखबर, सदस्यद्वारा आफैँलाई कार्यवाहक

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले अध्यक्ष कमला पराजुली कार्यालयमा उपस्थित नहुँदासम्मका लागि आफू कार्यवाहक अध्यक्ष रहेको बताएकी छन् । उनले ‘राष्ट्रिय महिला आयोग ऐन, २०७४’ को परिच्छेद ४ को दफा २० बमोजिम आफूलाई कार्यवाहक अध्यक्ष तोकेको उल्लेख गरेकी हुन् ।

अध्यक्षले कार्यवाहक तोक्निुपर्नेमा सदस्यले आफूले आफैंलाई कार्यवाहक अध्यक्ष तोकेको भन्दै आलोचना गरिएको छ । खतिवडाले जारी गरेको पत्रमा लेखिएको छ,‘कुनै कारणबस अध्यक्षको पद रिक्त भएमा संविधानको धारा १०१ को उपधारा (६) बमोजिम आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने भएमा, विदेश भ्रमणमा गएकोमा वा सात दिनभन्दा (बढी समयसम्म बिदामा रहेकोमा आयोगमा आयोगको वरिष्ठतम सदस्य आयोगको कार्यवाहक अध्यक्ष भई काम गर्नेछ भनि लेखिएकोमा अध्यक्ष आयोगमा उपस्थित नहुँदासम्मका लागि कार्यवाहक अध्यक्ष म सदस्य कृष्णकुमारी पौडेल खतिवडा नियमबमोजिम कार्यसम्पादन गर्ने जानकारी गराउँदछु ।’

सामान्यतयाः अध्यक्षले आफ्नो अनुपस्थितिमा कार्यसम्पादन गर्नका लागि कार्यवाहक तोक्ने गर्छन् । आइतबारदेखि विदेश भ्रमणमा गएकी अध्यक्ष पराजुलीले कसैलाई कार्यवाहक तोकेकी छैनन् । त्यसैले आयोगकी सदस्य खतिवडाले आफैंले आफूलाई कार्यवाहकको जिम्मा दिएकी हुन् । 

कानुनबमोजिम आफूलाई कार्यवाहकको जिम्मा दिएको खतिवडा बताउँछिन् । जनआस्थासँगको कुराकानीमा उनले भनिन्,‘उहाँ कहाँ जानुभयो, मलाई जानकारी छैन । उहाँ नआउनुभएपछि मैले कानुनबमोजिम आफूलाई कार्यवाहक तोकेको हुँ ।’

टिप्पणीहरू