अखिल अध्यक्षको फेसबुक राजीनामा र फिर्तापछि तलैसम्म विवाद

अखिल अध्यक्षको फेसबुक राजीनामा र फिर्तापछि तलैसम्म विवाद

‘भत्केको घरको बिग्रेको चाल, जता हेर्यो प्वालैप्वाल’ भन्ने एउटा नेपाली उखान प्रख्यात छ । दुई साताअघि मात्रै सत्ताच्यूत भएको नेपालको ठूलो वामपन्थी दल नेकपा (एमाले) र उसको भ्रातृ संस्था अनेरास्ववियुमा उक्त उखान ठ्याक्कै मेल खान थालेको छ । गत भदौ २३ को प्रदर्शन र २४ को जेन्जी विध्वंशले देशव्यापी रुपमा आन्दोलन उठायो ।

त्यसपछि मुलुक र राजनीतिक दलहरूमा एकैपटक संकट उत्पन्न भयो । त्यही बेलामा नै अखिल र एमाले छोड्नेहरूको लर्को लाग्यो । अखिलका अध्यक्षले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएको घोषणा गरे । अहिले तिनै अध्यक्ष विभिन्न नेताहरू प्रयोग गरेर पुनः संगठनमा फर्किने कोशिस गरेपछि विवाद नयाँ चरणमा प्रवेश गरेको छ । गत जेठमा सम्पन्न २४औँ महाधिवेशनमा करोडभन्दा धेरै खर्च गरेको र केही नेताहरूको व्यवहार मिलाएको कारण अहिले ती नेताहरू मौन बसेको एक पदाधिकारीले जानकारी दिए ।

भगौडाको पक्षमा एक जना 

अखिल अध्यक्ष डा. सुजन कडरियालाई अहिले भगौडा, ‘आलोकाचो केटो’ भन्दै अखिलकै नेता–कार्यकर्ताहरूले ट्रोल बनाउने, सार्वजनिक ठाउँमा उडाउने गरिएको छ । सुजनको पक्षमा सचिव आकाश घर्ती मगर मात्र देखिएका छन् । सामाजिक सञ्जाल छिनछिनमा अपडेट गर्ने आकाश समेत अहिले मौन बसेका छन् ।

फर्काउने जिम्मा माधवको ?

‘सुजनले सामाजिक सञ्जालबाट राजीनामाको घोषणा गर्दा सबैभन्दा बढी चोट र पीडा माधव दाइलाई भयो । महाधिवेशनमा केपी ओलीले ‘सुजनले दायाँबायाँ गर्यो भने जिम्मा कसले लिन्छ ?’ भन्दा ‘म लिन्छु’ भन्नुभएको थियो । माधव दाइले ठूलो रिस्क लिएर बालुवाटारबाट सुजनका लागि टिकट ल्याउनुभएको थियो र जिताउनुभयो पनि,’ माधव ढुङ्गेल निकट एक कार्यकर्ताले मलिन हुँदै सुनाए ।

गत साता जनआस्थामा सुजनबारे समाचार प्रकाशित भएपछि भानुभक्त ढकाल, किशोर विक्रम मल्ल आदिले ‘माधव, तिम्रो अध्यक्षले त मैदान छाड्यो, बालुवाटारमा बा’सँग तिमीले नै जिम्मा लिने भनेको होइन र ? अब जिम्मा त लिनैपर्छ नि !’ भनेपछि ढुङ्गेल कोटेश्वर महादेवस्थान तल रहेको सुजनको घरमा पुगेको बताइन्छ ।

स्रोतका अनुसार ढुङ्गेल उनको घर पुग्दा त्यतिबेला सुजन विरहको गीत सुन्दै मोबाइल खेलेर बसिरहेका थिए । माधवले सुजन र उनका बाबु (कमल कडरिया, जो लिखु तामाकोशी गापामा अध्यक्षमा पराजित भएका थिए) लाई सँगै राखेर भने, ‘जसरी पनि राजनीतिमा फर्कने वातारण तयार गर्छु, घरमै बसेर हुन्न । यसो कार्यक्रममा निस्कनुहोस् । जसले जे भने पनि मौन रहनुहोस् । अहिले २÷४ दिन केही नबोल्नुहोस्, कतै केही नलेख्नुहोस् ।’ भन्दै राजनीतिक भविष्यको जिम्मा लिने आश्वासन दिएका हुन् ।

रामेछाप जिल्ला कमिटीका एक पदाधिकारीले भने, ‘माधव कमरेड सुजनको घरमा जानै पथ्र्यो नि, आफैंले मरिहत्ते गरेर अध्यक्ष बनाएको । भक्तपुर चारदोबाटोभित्र ३ तले घर । भाउजूको सामान्य जागिर । २ बच्चा पढाउँदै घर चलाउनुपर्ने । काठमाडौँको जिन्दगी त्यति सहज छ र ?’ 

च्यासलमा त्यो दिन बिहान

कुरा गत भदौ २६ गतेको हो । त्यस दिन बिहान फेसबुक लाइभमा एमाले केन्द्रीय सदस्य ऐन महरले ‘केन्द्रीय कार्यालय जोगाउँछु, कार्यकर्ताहरूको सुरक्षा गर्छु’ भनेर गफ दिएका थिए । कफ्र्यु जारी थियो । सेनाका जवानहरू चोक–चोकमा खडा थिए । एमाले कार्यालयमा बाइक वा गाडीमा जान समेत दिइएको थिएन ।

एमाले कार्यकर्ताहरू च्यासलस्थित कार्यालयमा फाट्टफुट्ट आउजाउ गर्दै फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहेका थिए । त्यही दिन करिब १२ बजे एमाले युवा–विद्यार्थी विशेष जिल्ला कमिटीका उपाध्यक्ष श्यामकाजी खत्रीसहित आधा दर्जनको सानो समूह पार्टी कार्यालय पुगेर झन्डा राखी करिब डेढ मिनेटको भिडियो बनाएर घुम्दै थियो । त्यसक्रममा १५÷२० जना स्थानीय आएर उनीहरूसँग प्रतिवाद गरेको बताइन्छ । केही समयपछि केन्द्रीय सदस्य रमेश पौडेल र ऐन पार्टी कार्यालय पुगे । भवनमा झन्डा राख्ने तयारी भइरहँदा स्थानीयले अवरोध पुर्याएका हुन् । 

त्यसपछि सबैलाई ‘श्रद्धा गर्न चौकीमा जाऔं’ भनिएपछि पौडेल, सुमन पुरी, अमित महरलगायत केही नेता–कार्यकर्ताले कार्यालय छेउको प्रहरी चौकी सफा गर्न गएका थिए । करिब ३० मिनेट सफा गरेर नमस्कार गर्दै खोला किनारको क्याफेतिर लागे । अहिले पार्टी वृत्तमा पौडेललाई ‘चौकी सफा गर्ने नेता’ भनेर ट्रोल भइरहेको छ । स्थानीय जाइलाग्न थालेपछि महर चाँही आफूलाई पत्रकार भन्दै कार्यालयबाट निस्केको उनीहरुको भनाइ छ ।

नयाँ नेतृत्वको माग

यसैबीच अनेरास्ववियु बागमती प्रदेशका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज र स्थानीय नेताहरूले संगठन अध्यक्ष डा. सुजन कडरियाको नेतृत्व अस्वीकार गर्दै तत्काल नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् ।

बागमती प्रदेशका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र संयोजकहरूले संयुक्त रूपमा जारी गरेको ध्यानाकर्षण पत्रमा डा. कडरियाको पछिल्लो आचरण, राजनीतिक दोहोरोपन र राजीनामाको नाटकले संगठनको गरिमा र विश्वासमा ठेस पुर्याएको उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘संकटको घडीमा संगठनलाई बलियो बनाउनुपर्ने अध्यक्ष उल्टै भाग्ने, राजीनामाको नाटक गर्ने, सार्वजनिक रूपमा मौन रहँदा व्यक्तिगत रूपमा निराशावादी सन्देश दिने जस्ता व्यवहारले विद्यार्थी आन्दोलन र संगठनप्रति निष्ठावान कार्यकर्ताहरूलाई भ्रमित बनाएको छ ।’

पत्रमा डा. कडरियाको राजीनामा सार्वजनिक भएपछि पनि ‘विद्यार्थी संगठन सकियो’ भन्ने अभिव्यक्तिहरू संगठन र शहीदहरूको अपमान भएको दाबी गरिएको छ । नेताहरूले व्यक्तिगत स्वार्थ र राजनीतिक अवसरवादका आधारमा आन्दोलन सञ्चालन गर्ने प्रवृत्तिको कडा विरोध गरेका छन् ।

उनीहरूले महाधिवेशनमार्फत प्राप्त भएको प्रतिनिधिको विश्वास, मत र म्यान्डेटलाई अपमान गर्ने व्यक्तिलाई स्वीकार्न नसकिने स्पष्ट पारेका छन् । ‘संगठनलाई बचाउन अब स्वच्छ, दृढ र जिम्मेवार नेतृत्वको आवश्यकता छ । संगठनलाई अझ गहिरो संकटमा जान नदिन तुरुन्तै आवश्यक निर्णय लिनु आजको ऐतिहासिक आवश्यकता हो,’ भन्दै वक्तव्य जारी गरिएको छ ।

टिप्पणीहरू