प्रहरीमा जाहेरीपछि बालेनको ‘डिफेन्स’
जेन जी प्रदर्शनपछि भएको ध्वंशात्मक गतिविधिमा शंकास्पद भूमिका खेलेको आरोपपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले झण्डै एक महिनापछि मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा लामो प्रष्टीकरण दिँदै सिंहदरबारमा लागेको आगो निभाउन नसक्नुको कारणबारे जानकारी गराएका हुन् । उनले नेपाली सेनाले समेत आगो ननिभाएको दोष थोपरिदिएका छन् ।
बालेनले प्रदर्शनको दोस्रो दिन भदौ २४ गते साँझ सवा ८ बजेतिर महानगरको दमकल आगो निभाउन सिंहदरबार पुगेको दाबी गरेका छन् । महानगरसँग भएका दमकलहरु न्युरोड, बालाजु, सुन्धारा, शान्तिनगरलगायतका क्षेत्रमा लागेको आगो निभाउन गएको कारण सिंहदरबारमा पर्याप्त दमकल पठाउन नसकिएको उनको आशय छ ।
‘२४ गते राति ८ बजेदेखि १ बजेसम्म विशाल बजार जनसेवा प्रहरी वृत्त, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंक बानेश्वरमा न्युरोड दमकलले तथा नयाँ बसपार्कमा बालाजु र रामहिटी दमकलले आगो निभाइरहेको थियो’, उनले भनेका छन्, ‘२४ गते नै राति ८ः१५ देखि ९ः४५ सम्म, २५ गते बिहान १ः४५ देखि ३ः०० बजे सम्म, २६ गते दिउँसो ३ः३० देखि ६ः५० सम्म र सोही दिन साँझ ५ बजे देखि ६ बजेसम्म सिंहदरबारमा आगो निभाइरहेका थिए।’
पछिल्लो समय सामाजिक सञ्जालमा ‘लुसिफर’को उपमा पाएका बालेनले आफू र महानगरविरुद्ध झु्टो समाचार फैलाइएको पनि जिकिर गरेका छन् । ‘सत्य बुझौं, अफवाह फैलाउने काम नगरी सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ’, उनले लेखेका छन् ।
बालेनले सर्वोच्च अदालतमा लागेको आगो काठमाडौँ महानगरकै दमकलले निभाएर महत्वपूर्ण कागजात सुरक्षित राख्न सफल भएको दाबी समेत गरेका छन् । उनले भनेका छन्, ‘सर्वोच्च अदालत परिसरमा आगो निभाएको, त्यहाँको महत्वपूर्ण कागजहरु बचाएको प्रमाण हामीसँग सुरक्षित नै छ ।’ २७ गते सर्वोच्चमा आगो निभाएको दाबी गरेका उनले २५ गते बिहानसम्ममा अदालत खरानी भइसकेको थियो ।
बालेनले सर्वोच्चको आगो निभाएको दाबी गरिरहँदा प्रधानन्यायाधीश र न्यायाधीशहरु सहमत देखिँदैनन । प्रधानन्यायाधीश प्रकाशमासिंह राउतले सर्वोच्चमा आगो लागेको दुई दिनपछि मात्रै ललितपुर महानगरपालिकाको दमकल आगो निभाउन पुगेको बताएका थिए । दमकलको सट्टा बालेनको नगरप्रहरी टोलीले सिंहदरबार, सर्वोच्चलगायत सरकारी भवनमा आगो झोस्दै हिँडेको टोलीलाई पिकअप भ्यानबाट मिनरल वाटर बाँडेको थियो ।

टिप्पणीहरू