सरकार स्वार्थ समूहको प्रभावमा परेको आशंका

सरकार स्वार्थ समूहको प्रभावमा परेको आशंका

जवाफदेहिता निगरानी समितिले वर्तमान सरकार स्वार्थ समूहको प्रभावमा परेको शंका गरेको छ । भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शन र विध्वंशपछि पूर्वप्रधानान्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठित सरकार सबै पक्षसँग यथोचित संवाद, छलफल गरी अघि बढ्नुपर्ने कार्यमा चुकेपछि समितिलाई कुनै खास स्वार्थ समूहद्धारा निर्देशित भइरहेकोतर्फ शंका व्याप्त हुँदै गएको छ । 

समितिले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यसले सरकारको वैधतामा क्षय ल्याउने मात्र होइन, मुलुककै हितविरुद्ध प्रतिकूल अवस्था सिर्जना हुनसक्ने खतरा देखिन्छ ।’ इतिहासको जटिल मोडमा रहेको अहिलेको अवस्थामा अन्तरिम सरकारको सफलता नै मुलुकको सफलता हुने भन्दै समितिले कुनै पनि बहानामा अलमलिने र असफल हुने छुट सरकारलाई नभएको पनि बताएको छ । 

‘यस्ता आशंकाहरुलाई निवारण गर्दै खुला, पारदर्शी र संवादमुखी सरकारको रुपमा जेन–जी समूहहरु, राजनीतिक दलहरु, नागरिक समाजलगायत सबै सरोकारवालासँग सार्थक संवाद गर्दै अघि बढोस् भन्नेमा जवाफदेहिता निगरानी समितिले जोड दिन्छ,’ विज्ञप्तिमा उल्लेख छ । साथै, निर्वाचनको नाममा सुशासन र जवाफदेहितालाई पन्छाउने र सुशासन र जवाफदेहिताको नाममा निर्वाचनलाई अनिश्चित बनाइने छुट नभएको समितिले प्रष्ट पारेको छ । 

समितिले जेन जी विध्वंशका क्रममा महत्त्वपूर्ण सरकारी कार्यालय, निजी आवास, मिडिया हाउस, विद्यालय, व्यापारिक भवनलगायतमा तोडफोड, आगजनी र लुटपाट मच्याउनेलाई कारबाही गर्न ढिलाई गर्न नहुने पनि बताएको छ । यथाशीघ्र सत्य उजागर गरी दोषीलाई जवाफदेही बनाएर जनताले अनुभूर्ति गर्नसक्ने अवस्था निर्माण गर्न समितिको माग छ । 

योसँगै मुख्य राजनीतिक दलहरुलाई जेनजीसहित सर्वसाधारणमा दलप्रति घृणा उत्पन्न हुने अवस्था किन सिर्जना भयो भन्ने प्रश्नलाई गम्भीरतापूर्वक समीक्षा गर्न सुझाइएको छ । ‘पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई तीव्रता दिई सुध्रिएर मात्र निर्वाचनमा जाने आम अपेक्षाको विपरीत कुनै पनि कुचेष्टा लोकतन्त्र र सम्बन्धित दलहरूका लागि हानिकारक हुनेतर्फ सचेत र सजग हुन आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू