केपी ओलीले हाहाहुहुको प्रधानमन्त्री भन्न सुहाउँदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको विरोध गर्न नमिल्ने बताएका छन् । 

तत्कालीन प्रधानमन्त्री ओलीकै सहमति र सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेकाले जनाउँदै अहिले विरोध गर्नुको कुनै तुक नहुने उनले बताए । केही दिनअघि ओलीले कार्कीलाई 'हाहाहुहु' को प्रधानमन्त्री भनेका थिए ।   

राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्त अनुसार जेनजी युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियामा ओली नै सिफारिसकर्ता रहेको खुलासा प्रचण्डले गरेका हुन् । 

शुक्रबार सम्पादकहरुसँग कुराकानी गर्दै भने, ‘सुशीला कार्की ओलीजीकै सिफारिसमा प्रधानमन्त्री बन्नु भएको हो । त्यसको साक्षी हामी पनि छौँ । कम्तिमा उहाँले आफैंले सिफारिस गरेको व्यक्तिलाई हाहाहुहुमा प्रधानमन्त्री बनेको भनेर भन्न मिल्दैन । 

अहिले सुशीला कार्कीलाई सहयोग गरेर जानुपर्नेमा जोड दिँदै प्रचण्डले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताए । यो नै सबै दल तथा देश हितमा हुने उनको भनाइ छ । 

 'राष्ट्र सङ्कटमा छ भन्नेमा सबैको सहमति देखियो,' प्रचण्डले भने, 'यसको समाधानका लागि राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी सबै सम्मिलित राष्ट्रिय राजनीतिक सहमतिको खाँचो छ ।'

टिप्पणीहरू