चुनावका लागि रास्वपाको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुन लागेको निर्वाचनमा जिल्ला, निर्वाचन क्षेत्र र पालिका तहसम्मको सुझाव संकलनार्थ कार्यदल गठन गर्ने भएको छ । आज बसेको बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधिसहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
उक्त कार्यदललाई सुझाव संकलनको निम्ति सात दिनको समयावधि दिई आउँदो कात्तिक १५ गतेभित्र उम्मेदवारी आह्वान गर्ने रास्वपाले जनाएको छ । त्यसैगरी, उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ‘उच्च संवाद समिति’ गठन गर्ने निर्णय भएको छ ।
वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, सर्वाङ्गीण विकास एवम् सरसफाइ विज्ञ नमस्तेलाल भूमि, पूर्व गर्भनर शोभा जोशी बिजुक्छें, जलस्रोत तथा सिचाइँ विज्ञ बुद्धिलाल विश्वकर्मा र जनकपुर नर्सिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख जयकिशोर लाललाई मनोनयन गर्दै पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को गठन गरिएको छ ।
पार्टीको केन्द्रीय समितिको आगामी बैठक कात्तिक १४ र १५ गते चितवनमा बस्ने निर्णय भएको छ । बैठकको व्यवस्थापनका लागि केन्द्रीय सदस्य एवम् पूर्वसांसद हरि ढकालको संयोजकत्वमा समिति गठन गरिएको छ ।
टिप्पणीहरू