सुमना अघिअघि, अरू पछिपछि
एकाएक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले नयाँ राजनीतिक शक्ति निर्माणका लागि पहल थालेकी छन्। उनले वैकल्पिक राजनीतिमा विश्वास गर्ने युवाहरूको भेला बोलाएर नयाँ दल गठनको सम्भावना र औचित्यबारे छलफल अघि बढाएकी हुन् ।
हिजोको भेलामा सुमनासँगै सागर ढकाल, पुकार बम, गणेश कार्की, चलचित्र निर्देशक निश्चल बस्नेत र मीनबहादुर भाव, मिलन पाण्डे, रञ्जु दर्शनालगायतका युवाहरू सहभागी थिए।
बैठकमा सहभागीहरूबीच नयाँ दल खोल्ने कि विवेकशील साझा पार्टीमा फर्किने भन्ने विषयमा चर्चा भएको बताइन्छ। सहभागीहरूको बहुमतले भने जेन जी पुस्ताको प्रतिनिधित्व गर्ने नयाँ दल गठन गरेर आगामी निर्वाचनमा सहभागी हुनुपर्ने धारणा राखेका थिए।
भेलामा सहभागी एक युवाका अनुसार, केहीले रास्वपामा आवद्ध भएर अघि बढ्ने प्रस्ताव पनि राखेका थिए। तर अन्य सहभागीले भने ‘रास्वपामा गए रवि लामिछानेका विवाद र गल्ती पनि बोक्नुपर्ने हुन्छ’ भन्दै त्यो विकल्प अस्वीकार गरेका थिए।
भेलाले कुनै ठोस निर्णय नगरे पनि सुमनाको नेतृत्वमा नयाँ राजनीतिक समूह वा दलको तयारी सुरु भएको अनुमान गरिएको छ। सुमनाको हालैको ‘वैकल्पिक राजनीति र नयाँ पुस्ताको सहभागिता बिना देश अघि बढ्दैन’ भन्ने अभिव्यक्तिले अब उनको नेतृत्वमा नयाँ राजनीतिक यात्राको संकेत स्पष्ट भएको विश्लेषकहरू बताउँछन्।
टिप्पणीहरू