कारसँग ठोक्किँदा बस पल्टेर यात्रुको प्राणान्त
चितवनमा कार र बस ठक्कर खाँदा बसमा सवार एकजना यात्रुको ज्यान गएको छ। अपरान्ह करिब पाँच बजेको समयमा रत्ननगर–९ मा पर्ने टिकौली जंगलस्थित राजमार्गमा नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनीबस र विपरीत दिशाबाट आउँदै गरेको द्य ब ५००८ नम्बरको कार एकआपसमा ठोक्किँदा बस पल्टिएर दुर्घटना भएको हो। सो दुर्घटनामा चितवनकै रत्ननगर–१० बस्ने ३३ वर्षीया पूजा सुवेदीको देहान्त भएको हो। भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा एक घण्टाभित्रै उनको मृत्यु भएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसमा चालकसहित १८–१९ जना यात्रु सवार थिए। नौ जना घाइते भएका छन्। बस चालक चितवनकै राप्ती–२ बस्ने ३६ वर्षीय सुरज कंडेल, राप्ती–३ की २८ वर्षीया सबिता राई, रत्ननगर–७ झुवानी बस्ने २७ वर्षीय प्रभुनारायण महतो, उनका ८ वर्षे छोरा रियान्स महतो, ठेगाना नुवाकोट उल्लेख भएकी ३५ वर्षीया सीता तामाङ, भरतपुर–१२ बस्ने ३७ वर्षीया शोभा आचार्य, उनकी तीन वर्षीया छोरी सदीक्षा आचार्य, गोरखाको गण्डकी गाउँपालिका–५ बस्ने ३२ वर्षीय भोजराज काप्री र गोरखाकै बारपाक सुलिकोट गाउँपालिका–३ बस्ने ५५ वर्षीया माइता गुरुङ सामान्य घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
कार चालक काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने ४४ वर्षीय सुवास भण्डारी जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट झन्डै तीन किलोमिटर पश्चिम पर्ने घटनास्थलमा इप्रका प्रमुख डिएसपी सुवास भट्ट स्वयं खटिनुभएको थियो। जिल्ला प्रहरीबाट पनि प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो। अहिले दुवै सवारीसाधन प्रहरी चौकी गोन्द्राङको नियन्त्रणमा रहेका छन् र बाटो अवरुद्ध नभएको समेत प्रहरीले जनाएको छ।

टिप्पणीहरू